सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

तस्विरः फाइल फोटो

काठमाडौँ- महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीको साइबर ब्युरोले एक जना पुरूषलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए। 

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा छन्।

एसपी अवस्‍थीका अनुसार थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए। त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो। 

तर सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर/ भिडिओ पठाएको पाइएको हो। यसरी सामाजिक तथा व्यक्‍तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्र हत्या गरेको भन्दै पीडितले ब्युरोमा जाहेरी दिएकी थिइन्। 

त्यसमाथि अनुसन्धान गरी प्रहरीले थापालाई बुधबार गोंगबुबाट पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान अघि बढाएको छ ।