मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

आइसीसी क्रिकेट विश्वकप लिग- २ : आज नेपाल र नामिबिया भिड्‌दै

काठमाडौँ- आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुँदैछ ।

लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार व्यहोरेको थियो । त्यसपछि नेपालले नेदरल्यान्ड्समाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।  

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः नेपालविरुद्ध नेदरल्यान्ड्स