कोभिडले सौराहको पर्यटन व्यवसाय ठप्प

चितवनः चितवनको सौराहा नेपालको काठमाडौं, पोखरा पछि तेस्रो नम्बरमा आउने पर्यटकीय गन्तव्य हो । आन्तरिक तथा बाह्य पर्यटकहरु काठमाडौं, पोखरा घुम्दै चितवनको सौराहा सम्म आइपुग्छन् । चितवनमा आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउने धेरै चिजहरु पाइन्छ । चितवनको एक सिंगै गैडा, हात्ति, थारु कल्चर, जंगली जनावर, जंगल वार्क, हात्ति सवारी, जिप सफारी जस्ता पर्यटकलाई आकर्षित गर्ने एडभेन्चरहरु थुप्रै छन् ।
तर कोभिड–१९ को दोस्रो लहरले उठ्दै गरेको सौराहाको पर्यटन व्यवसाय फेरि ठप्प भएको छ । कोभिडको पहिलो लहरमा पनि सौराहाको पर्यटन व्यवसाय शुन्य बनेको थियो । अहिले पनि सौराहाको अवस्था त्यस्तै छ । कोभिडका पहिलो लहरका कारण बाह्य पर्यटकहरु सौराहामा खासै भित्रन पाएनन् । ‘आन्तरिक पर्यटकहरुले गर्दा सौराहाको पर्यटन व्यवसायले लय समाउँदै थियो फेरि ठप्प हुन पुग्यो’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराईल भन्छन्, ‘बाह्य पर्यटकको चहलपहल नभएको त एक वर्ष बितीसक्यो ।’
कोभिडको समयमा लामो समय बन्द भएर पनि सौराहामा आन्तरिक पर्यटकहरुको आकर्षण भने राम्रो थियो । साना तथा ठुला पर्यटकीय होटलहरु राम्रो सँगै चलेको भट्टराईले बताए । सौराहामा मुख्य आकर्षण भनेको होटल नै हो । सौराहामा साना ठुला गरी १ सय ५० भन्दा बढी होटलहरु संचालनमा छन् ।
अहिले होटलहरुले निश्चित कर्मचारीलाई मात्रै काममा राखेको छ । अधिकांशलाई बिदामा राखेको उनले बताए । यो जेठसम्म मासिक तलब दिएपनि अर्को महिनाबाट होटलमा कार्यरत कर्मचारीलाई बेतलबी बिदामा राख्नुपर्ने अवस्था आएको उनले बताए ।
सरकारले पर्यटन व्यवसायमा ध्यान नदिए धेरै व्यवसायीहरु मारमा पर्नेछन् । ‘घुमौ सौराहा’ नामक कार्यक्रम होटल संघले दुई वर्षदेखि प्रचार गर्दै आएको छ । कोभिडको दोस्रो लहरपछि पर्यटन क्षेत्र फेरि चलायमान बनाउन यही कार्यक्रमलाई प्रचार गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने योजना उनको छ । उनले बागमती सरकारलाई पनि पर्यटन व्यवसायको लागि आगामी वर्षको लागि बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सौराहाका विभिन्न होटलहरुमा करिब ५ हजार जनाले रोजगारी पाएका थिए । अहिले उनीहरु मध्ये सिमित मात्रै होटलमा कार्यरत छन् भने अन्य घरमै बस्नुपर्ने बाध्यता छ ।
सौराहामा १० वर्षदेखि होटल संचालन गर्दै आएका होटल जंगल जर्निका संचालक सुनिता लामिछानेले कोभिडले व्यवसायमा ठुलो धक्का पुगेको बताइन् । उनले पर्यटकहरु नहुँदा होटलको आम्दानी नभएको भन्दै बैंकको किस्ता तिर्न समस्या पर्ने बताइन् । सरकारले निषेधाज्ञाको समयमा ऋणको ब्याज मिनाह गरिदिए पनि पर्यटन व्यवसायीलाई राहत पुग्ने उनको भनाई थियो । सौराहामा होटल संचालकको समस्या उनीजस्तै अन्यको पनि उस्तै देखिन्छ । भ्रमण वर्ष २०२० लक्षित गरेर बैंकबाट ऋण लिएर उनीहरुले पर्यटनका पूर्वाधारहरु निर्माण गरेका थिए ।
निजी हात्ती पाल्नै मुस्किल
पर्यटकहरु आउन बन्द भएपछि सौराहाको हात्ती व्यवसायी पनि मारमा परेका छन् । एउटा हात्ति पाल्न मासिक १ लाख रुपैयाँ खर्च हुन्छ । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीका अनुसार हात्तिलाई दैनिक दश किलो धान, घाँस, बाँस, पराल खुवाउँदै आएको छ ।
दैनिक २ सय ५० किलो खाना हात्तिलाई दिनुपर्छ । ‘होटल, रिसोर्ट चल्दा बसेका पर्यटकहरुले हात्ति सफारीको पनि मनोरञ्जन लिने गरेका थिए । अहिले त्यो पनि बन्द छ’ उनले भने । सहकारीले अहिले ५५ हात्तिहरु पाल्दै आएका छ ।
निषेधाज्ञा अघि नेपाली पर्यटकलाई १२ सय ५० रुपैयाँ र विदेशी पर्यटकलाई २२५० रुपैयाँमा २ घण्टा हात्तिले जंगल सफारी गरथ्यो । कोभिडको दोस्रो लहरको असर पर्यटक सौराहामा नआउनु मात्र हैन त्यसको असर हात्तिको संख्या घट्नुमा पनि छ । सौराहामा पर्यटन व्यवसाय शून्य रहे हात्तिको संख्या पनि घट्दै जाने देखिएको छ । सौराहाका हात्तिहरु भारत जाने गरेका छन् । उता पु¥याइएका हात्तीलाई नेपाल ल्याइदैन ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया