शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नुवाकोटमा अब निजी जग्गाको सालको रुख काटेर बेच्न पाइने

नुवाकोट-  निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरी रुख कटान प्रतिबन्ध खुला गरेको हो । २२ वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानमा सरकारले प्रतिबन्ध लगाएको थियो ।

सूचनाअनुसार विसं २०५८ कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर विसं २०८० मङ्सिर ७ मा जनाएसँगै सालको रुख कटानको अवरोध हटेको हो ।

यससँगै नुवाकोटमा निजी वन दर्ताको क्रम सुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिइन् । दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइन्छ ।

वन ऐन–२०७६ र नियमावली–२०७९ अनुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा साल रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न सुरु गरेका छन् ।

डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रपत्र पाइने व्यवस्थाअनुरुप जिल्लाको अन्य पालिकाले पनि निजी वनको दर्ताको लागि आवश्यक कानुनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको डिभिजन वन अधिकृत पोखरेलले जानकारी दिइन् ।