भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट छैन

चितवन- चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो ।
आयोजनाका प्रमुख देव कुमार स्याङ्वोका अनुसार चालु आर्थिक वर्षका लागि स्यालो ट्युबेलको एक हजारभन्दा बढी माग भएको छ । जसमा स्वीकृत कोटा १० वटामात्रै रहेको उनले जानकारी दिए । यस्तै डिप ट्युबेल ५० भन्दा बढी माग भएकामा १३ वटाको मात्रै कार्यक्रम रहेको छ ।
स्याङ्वोले भने, 'चालु आवबाट कार्यक्षेत्र थप गरिएको छ । तर बजेट बढ्न नसक्दा मागअनुसारको काम हुनसकेको छैन ।' उनका अनुसार गत आवमा चितवन र मकवानपुर जिल्ला हेर्दै आएको यस आयोजनाले अहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व), बारा, पर्सा, रौतहट र सर्लाही कार्यक्षेत्र थप गरिएको हो ।
स्यालो ट्युबेलका लागि रु ५० लाख र डिप ट्युबेलका लागि रु १० करोड बजेट रहेको आयोजना प्रमुख स्याङ्वोले जानकारी दिए । यस वर्ष चितवनमा १० र मकवानपुरमा तीनवटा मात्रै डिप ट्युबेल निर्माण गर्ने योजना रहेको छ । आयोजनामा डिप ट्युबेलको बोरिङ निर्माण मात्र तीन र पाइप लाइनसहितका सातवटा रहेको उनले जानकारी दिए । स्यालो ट्युबेल चितवनमा निर्माण गरिने उनले बताए ।
स्यालो ट्युबेलले चार बिघा र डिप ट्युबेलले ४० बिघा क्षेत्रफल सिँचाइ हुने गरेको छ । गत वर्ष आयोजनामा रु ४० करोड बजेट विनियोजन गरिएको थियो । जसबाट एक सय ६० स्यालो ट्युबेल र ३५ डिप ट्युबेल जडान गरिएको थियो ।
स्याङ्वोले भने, 'डिप ट्युबेल मकवानपुरमा छ र चितवनमा २९ वटा निर्माण गरिएको थियो ।' स्थानीय सरकारले सिँचाइमा खासै चासो नदिँदा सिँचाइका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनले बताए । रासस

प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

गाईपालनबाट मासिक तीन लाख ५० हजार आम्दानी

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

कोदोको माग बढ्दा, उत्पादन घट्यो

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

प्रतिक्रिया