भारतलाई दुखाउने चिनियाँ रेलमार्ग

काठमाडौँ : चीनले पछिल्लो समय स्वशासित क्षेत्र तिब्बतको पूर्वाधार विकासमा व्यापक लगानी गरेको छ । त्यसकै एक उदाहरण हो, यही महिनाभित्रै सञ्चालनमा आउने नयाँ रेलमार्ग । जसले तिब्बतमा विकास गरिएको नयाँ सहर निन्चीलाई तिब्बती राजधानी ल्हासा हुँदै बेइजिङ र अन्य प्रमुख सहर जोड्नेछ ।
करिब पाँच अर्ब ७० करोड अमेरिकी डलर खर्चेर निर्माण गरिएको रेलमार्ग तिब्बतका लागि बेइजिङको उपहार भएको चिनियाँ कम्युनिस्ट पार्टीको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीले आउँदो जुन १ मा आफ्नो एक सयौँ जन्मदिन मनाउँदै छ । त्यसकारण उसले नयाँ रेलमार्ग आफ्नो तर्फबाट तिब्बती जनताका लागि उपहार भएको भनेको हो ।
४ सय ३५ किलोमिटर लामो यो रेलमार्ग तिब्बतकै पहिलो विद्युतिय रेलमार्ग हुनेछ । जहाँ तिब्बतकै सबैभन्दा तिब्र गतिमा गुड्ने रेलले यात्रु बोक्नेछ । चीन सरकारले तिब्बतमा अर्को नयाँ रेलमार्ग पनि निर्माण गरिरहेको छ । जसको लागत ल्हासा-निन्ची रेलमार्गको भन्दा १० गुणाभन्दा बढी हुनेछ । त्यस नयाँ रेलमार्गले ल्हासालाई छन्दु (चेन्दु)सँग जोड्नेछ । जुन तिब्बतलाई चीनका अन्य भागसँग जोड्ने दोस्रो रेलमार्ग हुनेछ ।
निर्माणाधिन ल्हासा-छन्दु रेलमार्ग प्राविधिक हिसाबले ल्हासा-निन्ची रेलमार्ग भन्दा निकै चुनौतीपूर्ण रहेको भनाइ छ । रेलमार्गको आधा दुरी सुरुङले ओगट्नेछ । निर्माणमा खटिएका कामदारले ठन्डी, अक्सिजन अभावलगायतका समस्यासँग जुध्नु परेको छ । यो रेलमार्ग सामुन्द्रिक सतहबाट झन्डै ५ हजार मिटरमाथि निर्माण भइरहेको छ । अर्को वाक्यमा भन्दा, चिनियाँ कामदार करिब सगरमाथा बेसक्याम्पकै बराबरको उचाइमा रही खटिइरहेका छन् ।
तिब्बत र सिचुवानको राजधानी जोड्ने रेल करिब १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा दौड्नेछ । त्यसको मतलब दुई सहरबीचको यात्रा १२ घण्टामा गर्न सकिनेछ । ल्हासा-छन्दु रेलमार्ग निर्माणका लागि लाग्ने अर्बौ डलर खर्च गर्न चीन किन तयार भयो त ? यसको मुख्य कारण तिब्बतको महत्व र भौगोलिक रूपमा एक्लिएको यो प्रान्तलाई अन्य भागसँग जोड्न नै हो ।
तिब्बतलाई बाँकी चिनियाँ भूमिसँग जोड्न त्यहाँको सरकार वर्षौ अगाडिदेखि लागि परेको छ । सन् २००६ मा तिब्बतलाई अर्को प्रान्तसँग जोड्ने रेलमार्ग सञ्चालनमा आएको थियो । जसले तिब्बतलाई किन्घाइसँग जोड्यो । त्यस रेलमार्ग निर्माण पनि उच्च प्रविधिको प्रयोगबिना सम्भव थिएन । तापक्रममा आउने उतारचढावलाई रोक्ने प्रविधिसहितको रेलमार्गले ल्हासा र किन्घाइको सिनिङलाई जोडेको छ ।
तिब्बतमा पर्यटन बढावा दिन चाहन्छ, चीन । त्यसका लागि रेलमार्गले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ । सन् २००५ मा तिब्बत भ्रमण गर्ने पर्यटकको संख्या २० लाख भन्दा कम थियो । सन् २०१८ मा भने करिब ३ करोड ३० लाख पर्यटक तिब्बत पुगे । त्यसमा विदेशीको संख्या एक प्रतिशत पनि थिएन ।
चिनियाँ सरकार सन् २०२५ मा तिब्बत घुम्ने पर्यटकको संख्या ६ करोड पुगोस भन्ने चाहन्छ । जुन तिब्बतको जनसंख्या भन्दा १७ गुणा धेरै हो । पर्यटकको संख्यामा वृद्धी हुँदै गर्दा तिब्बती भने चिन्तित छन् । पर्यटक बढ्दै गए तिब्बतको स्थानीय संस्कृति मासिने उनीहरूको चिन्ता हो । त्यसै पनि चीनका अन्य भागबाट बसाइ सरेर तिब्बत पुगेका हानका कारण स्थानीय संस्कृति खतरामा परेको तिब्बतीको गुनासो रहिआएको छ । तीनै हान तिब्बतको स्थानीय व्यापारमा आफ्नो सहभागिता बढाउँदै गइरहेका छन् ।
पहिलेबाट आफ्नो उपस्थिति बढाइरहेका हान र बढ्दो पर्यटकका कारण तिब्बतमा जातिय भिडन्त हुनसक्ने खतरा छ । त्यसो त तिब्बतमा सन् २००८ यता पटक पटक जातिय हिंसा भइरहेको छ । तिब्बतमा निर्माण भइरहेको रेलमार्ग छिमेकी भारतमा टाउको दुखाइको विषय बनिरहेको छ । कारण ? ल्हासा-छन्दु रेलमार्ग उत्तरी भारतीय राज्य अरुणाचलको छेउबाटै निर्माण भइरहेको छ । अरुणचालमाथि त्यसै पनि चीनको नजर रहिआएको छ । चिनियाँ सरकार भारतीय राज्य अरुणाचललाई तिब्बतको हिस्सा मान्छ । जसलाई उ तल्लो तिब्बत भन्छ । सन् १९६२ मा भएको चीन-भारतबीचको युद्ध दौरान चिनियाँ सैन्य फौजले अरुणाचलमाथि कब्जा जमाउन प्रयास गरेका थिए ।
अरुणाचलको उत्तरी भागको नजिक हुँदै गुड्ने रेल आफ्नो सुरक्षाका लागि खतरा भएको भारतको भनाइ छ । यस आयोजनाबाहेक अर्को चिनियाँ आयोजनाले पनि भारतलाई चिन्तित बनाएको छ । त्यो आयोजना हो, यारलुङ साङपो नदीमाथि निर्माण गर्न लागिएको बाँध । यारलुङ साङपो भारतीय भूमिमा पुग्दा ब्रह्मपुत्र बन्छ । हुन त, ल्हासा-छन्दु रेलमार्गले यारलुङ साङपोलाई १६ पटक पार गर्नेछ । त्यसै नदीमा निर्माण गरिने बाँधले भारतमा जलसुरक्षा खतरामा पर्ने अनुमान गरिएको छ ।
यारलुङ साङपोमा बाँध निर्माण गर्ने चिनियाँ योजनालाई भारतले रोक्न सक्ने अवस्था छैन । ‘यारलुङ साङपोमा बाँध निर्माण गर्ने योजना बनाएर चीनले भारतलाई गिज्याएको हो,’ उप्पसाला विश्वविद्यालयका प्राध्यापक अशोक स्वाइन भन्छन् । जे होस, यारलुङ साङपोमाथि बाँध बनाउन चीनले योजना बनाइरहे पनि त्यस नदीलाई पार गर्ने रेलमार्ग भने निर्माणाधिन छ । जहाँ तिब्र गतिमा रेल गुड्ने नै छ । त्यो रेल भारतीय विरोधले रोकिनेवाला छैन । (दी इकनोमिस्टबाट)

अवैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

भारतमा एक नेपालीको मृत्यु

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

चीनले जितेको त्यो वार्ता

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

प्रतिक्रिया