सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते

जनकपुरधाम : महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय श्याम कार्की, अफताब आलम र बुद्धिराज न्यौपाने घाइते भएका छन् । घाइतेहरुको स्थानीय शुभ स्वास्तिक अस्पतालमा उपचारभइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

स्थानीयकाअनुसार गोली लागेर घाइते भएका तीनैजनाको अवस्था गम्भीर रहेको छ भने लाठी चार्जबाट समेत आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । 
बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले आगजनी गरेका छन् भने बिहानैदेखि राजमार्गसमेत अवरुद्ध गरेका छन्। 

आलमकी छोरी गुलाब साह खातुनको हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका हुन् । स्थानीयले मृतक बालिकको शव सडकमै राखी बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका कारण दर्जनौं गाडी अलपत्र परेका छन् ।