आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

मुगु- मुगुको सोरु गाउँपालिका-६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ ।
उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदै छिन् । वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ । श्रीमतीको मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसीमै छन् । उनी केही बोलेनन् ।
‘अरूलाई त बनिबुतो गरेर हुर्काउँला, त्यो अन्न खानै नथालेको ४ महिनाको बच्चालाई के खुवाएर बचाउने भनेर सोच्न सकेको छैन,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने ।
सलबहादुर आफैँ पनि बिरामी छन् । उनका भाइबुहारी पनि ज्वरोले थलिएका छन् । रोग र शोक एकैपटक झेलिरहेको परिवारलाई पोषिलो आहार र उपचारको खाँचो छ । तर, बिहान-बेलुकाको दुई छाक जुटाउन समेत कठिन हुने स्थितिमा गुज्रिरहेको छ ।
‘घरमा दुई छाक टार्नै धौ धौ छ । मजदुरी गरेर खान्थ्यौँ,’ सलबहादुरले भने, ‘अहिले रोग र भोकको विपत्ति एकैपटक आयो, ठूलाले जे खाए पनि हुने रहेछ, यी कलिला बालबच्चालाई के खुवाएर बचाऔँ ?’ घर खर्च जोहो गर्न घरमा श्रीमती र सुत्केरी बुहारीलाई छोडेर गत मंसिरमा सलबहादुर छोरालाई लिएर मजदुरी गर्न भारत पुगेका थिए ।
तर, दुई महिना नबित्दै घरमा विपत्ति आइलाग्यो । सबै जना बिरामी परेको खबर पाएपछि उनीहरू घर फर्किए, तर घर आइपुग्दा बुहारीको श्वास रोकिसकेको थियो ।
गाउँभरि नै भाइरल ज्वरोको प्रकोप छ । ‘घरैभरि बिरामी छन् । मान्छेको बिचल्ली छ,’ सलबहादुरले भने, ‘वल्लो घर पल्लो घरका नानीहरूले दूध खुवाएर त्यो बच्चालाई बचाएका छन् । कसलाई के भनौँ ? कसरी मागौँ ?’
ढोली परिवारलाई परेको विपत्तिमा वडा, गाउँपालिका वा कुनै पनि सरकारी निकायको नजर परेको छैन । झण्डै एक महिनासम्म निरन्तर ज्वरो आउने, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, नाकमुख सुख्खा हुने जस्ता लक्षण देखिएर बिरामी परेकी कुसुमको गत साता जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भाइरल ज्वरो फैलिँदा गाउँमा कुसुमसहित अन्य दुई जनाको समेत मृत्यु भएको छ भने अहिले पनि सयौँ जना बिरामी छन् । न्युजकारखाना

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

सङ्कलन गरेको गोहीका अण्डाबाट कोरलियो बच्चा

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

प्रतिक्रिया