रसअल खैमाहमा पासपोर्ट नवीकरण तथा जनसचेतना घुम्ती शिविर सम्पन्न

काठमाडौँ- यूनाईटेड अरव ईमिरेट्स (यूएई) को रसअल खैमाह राज्यमा पासपोर्ट नवीकरण तथा जनचेतना घुम्ती शिविर आयोजना सम्पन्न भएको छ ।
नेपाली दूतावासको आयोजना र नेपाली समाज यूएईको संयोजन सहकार्यमा गत आइतबार २१ जनवरीमा सम्पन्न उक्त शिविरमा ३ सय १५ जना नेपालीहरूले पासपोर्ट नवीकरण गरेका थिए ।
कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सामाजिक सुरक्षा, टेलिमेडिसिन सेवा तथा सुरक्षित विप्रेषणको बारेमा जानकारी गराएका थिए । श्रम सहचारी आबेद अन्सारीले विद्यमान श्रम कानुन र त्यसको उपयोगिताको बारेमा विशेष जानकारी दिए ।
नेपाली दूतावास अबुधाबीका प्रवक्ता तथा मिनिस्टर काउन्सिलर विशाल भट्टराईले रस अल खैमाह राज्य अन्य राज्यहरू भन्दा टाढा रहेको र यहाँ बाट अबुधाबी पुग्न पैसा र समयको हिसाबले निकै कठिन भएको हुनाले श्रमिकहरूको सुविधाको लागि यो शिविर आयोजना गरिएको बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए), नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका थिए । नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले नेपाली समाजको स्थापना नै नेपाली श्रमिकहरूको हितको लागि भएकोले दूर दराजमा आयोजित यो कार्यक्रममा धेरै नेपालीहरूले सेवा प्राप्त गर्नु भएकोमा आफू हर्षित भएको बताए ।
एनआरएनए यूएईका अध्यक्ष विकाश शाहीले नेपाली श्रमिकहरूको सेवामा आयोजना हुने जुनसुकै कार्यक्रममा सबैसँग सहकार्य गर्ने बताए । रास अल खैमहा क्षेत्रका सामाजिक अभियन्ता रेशम लामाले हरेक ६ महिनामा कम्तीमा एक पटक यस राज्यमा घुम्ती शिविर आउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा यूएईकै अर्को टाढाको राज्य फुजेराहबाट आएका १ सय भन्दा बढी सेवाग्राहीहरुले पनि सेवा प्राप्त गरेका थिए । दूतावासले अघिल्लो साता १४ जनवरीका दिन पनि फुजेराहमा यस्तै प्रकृतिको घुम्ती शिविर आयोजना गरेको थियो ।
एनआरएनएले संयोजन गरेको उक्त शिविरमा २ सय ३९ जना कामदारहरूले पासपोर्ट नवीकरण गरेका थिए । यूएईमा ३ लाख भन्दा धेरै नेपालीहरू कार्यरत छन् भने रस अल खैमाह राज्यमा मात्र १० हजार भन्दा बढी नेपालीहरू कार्यरत रहेको अनुमान छ ।
पछिल्लो तथ्यांक अनुसार यूएई नेपाली श्रमिकहरूको पहिलो रोजाइको गन्तव्य मुलुक बनेको छ । रस अल खैमाह राज्य अवुधावीबाट ३ सय किमी टाढा रहेको छ । जनचेतना कार्यक्रममा झण्डै ५ सय कामदारहरू उपस्थित थिए ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया