बेनी-जोमसोम सडक खण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने

गलेश्वर (म्याग्दी)- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी-जोमसोम-कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ ।
गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएपछि दुई लेनको सुरुङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी-जोमसोम सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।
उनका अनुसार सुरुङमार्ग निर्माणका लागि ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झण्डै रु ९० करोडको लागत अनुमानसहित स्वीकृतिका लागि मन्त्रालयमा पत्र पठाइएको हो । कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको आयोजना प्रमुख झाले जानकारी दिए । 'सुरुङबाहेक अर्को विकल्प छैन, सडकको सुरक्षाका लागि सडकको पुरानो बाटो परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ,' उनले भने ।
नियमित यातायात सञ्चालनका लागि अहिले उक्त सडकखण्डको भिरकोटमा ढुङ्गा राखेर डाइभर्सन गरिएको छ । कालीगण्डकी नदी कटानका कारण सडकको बेससमेत नरहेपछि उक्त खण्डमा यातायात सञ्चालन गर्न समस्या हुँदै आएको छ ।
अत्यन्तै जोखिमपूर्ण मानिएको उक्त खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाए । 'कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ, 'बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडकखण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ,' उनले भने ।
बेनी-जोमसोम-कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुग्नसक्ने भएकाले सुरुङबाहेका अन्य विकल्पबारे थप अध्ययन भइरहेको आयोजना प्रमुख झाले जानकारी दिए ।
विसं २०७४ मा सुरु भएको बेनी-जोमसोम सडक रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । एक सय ८६ किमी दूरीको उक्त सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ । रासस

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

प्रतिक्रिया