आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

पातलिएको सम्बन्धबीच बाक्लिएको भेटघाट

नेपाल-भारत सम्बन्धमा चिसोपना र न्यानोपना सामान्यझैं लाग्छ । चिसो हुँदा होस् या तातो, आमनागरिक पनि नेपाल-भारत सम्बन्धबारे सामान्य ठान्‍न अभ्यस्त भइसकेका छन् । हुन पनि बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएसँगै नेपाल-भारत सम्बन्धमा कुनै न कुनै प्रकृतिका उतार-चढाव रहन्छ ।

कहिले सम्बन्ध निकै कस्सिएको झैँ लाग्छ त कहिले निकै खुकुलो या हल्का भएको आभास हुन्छ । दुईपक्षीय भ्रमण हुनेबित्तिकै नेपाल-भारत सम्बन्ध निकै उचाइमा पुगेको मीठो गाथा नेतृत्व तहका पात्रहरू गाउँछन् । दिल्ली पुगेर फर्किंदा विमानबाट ओर्लिन नपाउँदै र काठमाडौँमा आएका पाहुना विमानस्थलमा हात हल्लाउन नभ्याउँदै त्यस्तो गाथा गाइने परम्परा छ । तर, केही समयमा सम्बन्धमा धाँजा फाटिसकेको हुन्छ । यो हाम्रो यथार्थ हो । सामान्य विषयले पनि असहजता उत्पन्न हुने सम्बन्ध नेपाल-भारतबीच रहेको छ ।

रोटी-बेटीको सम्बन्ध भन्दै गर्दा सानो भन्दा सानो विषयले पनि खल्बलिन पुग्छ । साढे सात दशकदेखि दुईपक्षीय उतार-चढाव बीचमा नेपाल-भारत सम्बन्ध अघि बढेको छ । पछिल्लो समयमा पनि नेपाल-भारत सम्बन्ध असहजमै छ । नेपालले कूटनीतिक कौशलता देखाउन सकेन भने भारतले पनि शालीनता र छिमेक पहिलो भन्ने गफमा मात्र सीमित राख्यो । अझ भन्नुपर्दा भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा सुधार गरेन ।

कूटनीतिमा ‘ब्याक च्यानल’को प्रयोग महत्वपूर्ण हुन्छ । त्यही च्यानलको सक्रियताले होला, यतिबेला नेपालमा भारतीय गुप्तचर निकायका प्रमुख सामन्त गोयल आएर कार्यकारी प्रमुखसँग भलाकुसरी गरी फर्के । स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे आएर सबैसँग भलाकुसारी गरे । अब भारतबाट हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणमा नेपाल आउँदैछन् । उनी ११ मंसिरमा काठमाडौं ओर्लनेछन् । दुईपक्षीय छलफलपछि नेताको दैलो दैलो दौडाहमा उनी सक्रिय हुनेछन् । फेरि भारतसँग सम्बन्धको माहौल सुध्रिएको टीका-टिप्पणी बढ्नेछ ।

नेपाल-भारत सम्बन्ध कूटनीतिक च्यानलबाट अघि बढाउन उपयुक्त माध्यमका रूपमा यो भ्रमण रहेको छ । यही भ्रमणमा एकअर्काबीचका सम्बन्धका सबै पक्ष केलाउने काम हुन्छ । यो भ्रमण लगत्तै परराष्ट्रमन्त्रीस्तरको भ्रमण हुनेछ । जुन संयुक्त आयोग बैठकले परिचित छ र त्यहाँ केही सम्झौता भएर सहकार्य अघि बढ्नेछ । त्यसले कति समय निरन्तरता पाउने हो यसै भन्न सक्ने विगत छैन ।

नेपाल-भारत सम्बन्धमा पुनः केही समयका लागि न्यानोपना बढ्न लागेको देखिन्छ । नेपाली भाषामा कुराकानी गर्न सक्ने श्रृंगलाले गर्ने राजनीतिक भेटघाट पनि अर्थपूर्ण हुनेछ ।

नेपाल र भारतको समस्या केलाउन बनेको प्रबुध्द व्यक्ति समूहले तयार पारेको प्रतिवेदन उपयोगमा ल्याएको भए सम्बन्ध सहज बनाउन उपयोगी हुन्थ्यो । तर भारतले किन बुझेन ? यो विषयमा केन्द्रित हुँदै नेपाली पक्ष स्पष्ट हुन सक्नुपर्छ । भूकम्पपछि असहज स्थितिमा नेपाल थियो, त्यही क्रममा नेपालले संविधान जारी गरेपछि आर्थिक नाकाबन्दी लगायो । त्यसयता उत्पन्न चिसोपनामा न्यानो बनाउने काम हालकै प्रधानमन्त्रीले २०७२ मा गरेका थिए । फेरि उनी नै प्रधानमन्त्री हुँदा पुनः चिसिएको छ । भारतले नै आफ्नोमा नेपाली भू-भाग राखी नक्सा जारी गरेपछि बखेडा झिकेको थियो ।

एक-अर्काको सार्वभौमिकताका सम्बन्ध अघि बढाउन हाम्रो नेतृत्व डराउनुपर्ने अवस्था छैन । कूटनीतिमा सानो-ठूलो सार्वभौमिकता भन्ने हुँदैन । यो सोचबाट माथि उठ्दै आफ्ना कुरा प्रस्ट राख्ने र सहमत गराउने गर्न सक्नुपर्छ । नेपाल र भारतबीचको औपचारिक वार्ता कूटनीतिक च्यानलबाट अघि बढ्दै गर्दा अर्को छिमेकीले पनि रक्षामन्त्रीलाई नेपाल पठाउँदै छ । यसरी उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुनु राम्रो पक्ष हो । हामी जस्तो मुलुकले सबैसँग सम्बन्ध राखेर अघि बढ्न सक्नुपर्छ ।

छिमेकीका साथै शक्ति राष्ट्रलाई समेत आफ्नोतर्फ खिच्न सक्नुपर्छ । नेपाल-भारतका परराष्ट्र सचिव नेतृत्व टोली काठमाडौँमा बसेर विविध विषयमा मन्थन गर्नु सुखद् हो । कोभिडका कारण दुई मुलुकबीच कुनै औपचारिक उडान छैन, तर विशेष विमानमा आएर यो प्रकारको छलफल हुनु सुखद् छ  ।

भारतीय विदेश मन्त्रालयले भ्रमणको दौरानमा श्रींगलाले नेपाल समकक्षी र अन्य उच्च व्यक्तिसँग भेटघाट गर्ने र दुईपक्षीय सहकार्यका क्षेत्र अघि बढाउने उल्लेख गर्नुले पनि नेपाल-भारत सम्बन्धमा पुनः केही समयका लागि न्यानोपना बढ्न लागेको पुष्टि हुन्छ । नेपाली भाषामा कुराकानी गर्न सक्ने श्रृंगलाले गर्ने राजनीतिक भेटघाट पनि अर्थपूर्ण हुनेछ ।

नेपाल र भारतबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन श्रृंगलाको भ्रमण उपयोगी हुन सक्छ । यससँगै चिनियाँ भ्रमणले पनि नेपालको महत्वलाई माथि उकास्ने नै छ । यस अर्थमा नेपाल निकै चनाखो भएर दुई मुलुकको बीचमा नपरी बहुपक्षीयताको सिध्दान्तमा अघि बढ्न आवश्यक छ ।