सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध

फाइल तस्बिर

धरान- धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो । 

उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिक स्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ । 

बजारमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले बताए ।  

धरानका सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल जस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका सुर्ती, खैनी, गुट्खा, पानपरागका खोल अत्यधिक मात्रामा भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनुपरेको उपमहानगरपालिकाका सूचना अधिकारी टीकाराम निरौलाले जानकारी दिए । रासस