विज्ञ भन्छन् : निर्वाचन घोषणा भइसकेपछि पूर्ण बजेट ल्याउन र मन्त्रिपरिषद् पुनर्गठन गर्न मिल्दैन
आयोग भन्छ : आचार-संहिता नलाग्दासम्म गर्न नमिल्ने कानुनी व्यवस्था छैन

काठमाडौँ : प्रतिनिधि विघटन र मध्यावधि चुनाव घोषणासँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः कामचलाऊ परिणत भएको छ । तर, आफूले आफैलाई कामचलाऊमा झारेका ओलीले त्यसको कुनै छनक दिँदैनन् । उनी छाडा-शैलीको शासकीय यात्रामा छन् । निरंकुशतन्त्रबाहेक संसदीय पद्धति भएका मुलुकमा यस्ता क्रियाकलाप पूर्णतः बन्देज हुन्छ ।
उनी कामचलामै झरेपछि अध्यादेशमार्फत् १५ जेठमा १६ खर्ब, ४७ अर्बको पूर्ण बजेट ल्याए, त्यो पनि एक साताअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको मिलेमतोमा मध्यरातमा संसदलाई बलि चढाउँदै । शुक्रबारमात्रै ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्, त्यो पनि जनता समाजवादी पार्टीलाई फोड्दै । त्यसअतिरिक्त उनले सात मन्त्रालय आफैँसँग राखेका छन् । त्यो हेर्दा उनले फेरि मन्त्रिपरिषद् हेरफेर गर्ने निश्चित छ ।
ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी आगामी २६ कात्तिक र ३ मंसिरमा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै सरकार स्वतः कामचलाऊमा परिणत भएको हो ।
यो संवैधानिक मान्यताविपरीत भएको सम्बन्धित क्षेत्रका जानकारहरूले बताएका छन् । हाम्रो जिज्ञासामा पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वमुख्यसचिव, संविधानविद्ले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन र मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने बताएका हुन् ।
निर्वाचन आयोगले भने निर्वाचन अवधि सुरु नभएको र आचार-संहिता पनि कार्यान्वयनमा आइनसकेकाले निर्वाचन कानुनको गर्न हुँदैन भन्न नमिल्ने बताएको छ ।
पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारको मन्त्रिपरिषद् पुनर्गठन र पूर्ण बजेट ल्याउने कार्यले सबैले समान तरिकाले आफ्ना योजना र नीति तथा कार्यक्रम मतदातासामु पुर्याउन असहज हुने बताए । ‘निर्वाचनको सर्वव्यापी सिद्धान्त समानताका आधारमा सबैले आफ्ना नीति तथा कार्यक्रम मतदातासमक्ष लैजान पाउनु पर्छ भन्ने छ । कसैलाई बढी कसैलाई घटी हुनुहुन्न,’ गुरुङले इकागजसँग भने ।
उनी भन्छन्, ‘सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठन, पूर्ण बजेट ल्याउने कार्यले सबैले समान तरिकाले आफ्ना योजना र नीति तथा कार्यक्रम मतदातासामु पुर्याउन सक्दैनन् । तसर्थ निर्वाचन सफल बनाउने प्रमुख दायित्व बोकेको सरकारले मन्त्रिपरिषद् पुनःगठन र सरुवा बढुवा गर्नुहुन्न ।’ आफूसहित पाँच पूर्वप्रमुख आयुक्तले निर्वाचनलाई स्वच्छ राख्न सरकारलाई पूर्ण बजेट नल्याउन संयुक्त रूपमै गरेको तर सरकारले नसुनेको बताए । निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गर्ने भनेकोमा नबोलेको उनको भनाइ थियो ।
पूर्वमुख्यसचिव डा. विमल कोइरालाले ‘आफैले निर्वाचन घोषणा गरेर कामचलाउ हैसियतमा झरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन र पूर्ण बजेट ल्याउन नपाइने’ बताए । ‘प्रधानमन्त्री आफैँ निर्वाचन घोषणा गर्ने, आफूले आफैंलाई कामचलाऊको हैसियतमा झार्ने, अनि यस्तो बेलामा मन्त्रिपरिषद् विस्तार गर्ने काम र नियुक्ति गर्न मिल्छ,’ पूर्वमुख्य सचिव डा. कोइरालाले इकागजसँग भने, ‘चुनावलाई कुनै पनि हिसाबले प्रभावित गर्नु हुँदैन ? बजेट समेत ल्याउन पाइँदैनथ्यो, त्यो पनि ल्याइयो । तर, यी सब मिच्दै जे पनि गर्न हुन्छ भन्ने गाईजात्रा सुरु भएको छ । प्रधानमन्त्री नै यसरी छाडा भएपछि कसले हेर्ने त ?’
डा. कोइरालाले संविधानतः सरकारले संविधान र कानुनविपरीत काम गर्दा हेर्ने निकाय राष्ट्रपति भए पनि नहेर्दा यो समस्या आएको बताए । डा. कोइरालाले भने, ‘सरकारले लीक छोड्दा संविधानतः हेर्ने निकाय भनेको राष्ट्रपति हो । तर, राष्ट्रपतिले सरकार संविधानको लीक छाडे/नछाडेको हेर्दैन भने स्थिति झन् जटिल हुँदै जान्छ ।’
संविधानविद् डा. भिमार्जुन आचार्यले निर्वाचन घोषणा भइसकेको अवस्थामा दैनिकी प्रशासन चलाउने र आपतकालीन कामबाहेक दीर्घकालीन असर पार्ने निर्णय गर्न नहुने बताउँछन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने भनेर मिति नै घोषणा भएको छ । यस्तो अवस्थामा संवैधानिक मान्यता दिनहुँको प्रशासन चलाउने र आपतकालिन कामबाहेक दीर्घकालिन असर पार्ने निर्णय गर्न हुँदैन भन्ने मान्यता हो,’ संविधानविद् डा. आचार्यले इकागजसँग भने, ‘त्यो मान्यता प्रधानमन्त्रीले मान्नुभएन । गर्नै पर्ने कामबाहेक अरु गर्नु राम्रो मानिन्न । उहाँले गर्नुभयो । यो उचित होइन ।’
निर्वाचन घोषणा भए पनि गर्न नमिल्ने बेला भएको छैन : आयोग
निर्वाचन आयोगले भने निर्वाचन अवधि सुरु नभएकाले निर्वाचनका दृष्टिले पूर्ण बजेट ल्याउन र मन्त्रिपरिषद् पुनर्गठन गर्न नमिल्ने बेला आइनसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन घोषणा भए पनि आचार-संहिता नलाग्दासम्म मन्त्रिपरिषद् विस्तार र पूर्ण बजेट ल्याउन मिल्दैन भन्ने कानुनी व्यवस्था नभएको बताए ।
‘आचारसंहिता नलाग्दासम्म गर्न नमिल्ने भन्ने कानुनमा व्यवस्था छैन । कानुनमा तीन विषय उल्लेख छन् । पहिलो-निर्वाचन घोषणा, दोस्रो-निर्वाचन अवधि, तेस्रो-आचारसंहिताको अवधि,’ प्रमुख आयुक्त थपलियाले इकागजसँग भने, ‘निर्वाचन घोषणाको अवधि हो, निर्वाचनको अवधि होइन । हाम्रो निर्वाचन अवधि असारको २७ गतेदेखि सुरु हुन्छ । त्यसभनदा अगाडि निर्वाचनको दृष्टिले गर्न नहुने देखिदैन ।’
थपलियाले निर्वाचनको मिति भन्दा १२० दिन अगाडिको मितिलाई मात्रै निर्वाचन अवधि भनिने बताए । आचारसंहिता सुरु भएपछि कारबाही हुने र निर्वाचन अवधि सुरु भएपछि सैद्धान्तिक रूपमा गर्न नमिल्ने थपलियाको भनाइ छ । ‘आचारसंहिता सुरु भएपछि गर्नै पाइदैन कारबाही नै हुन्छ । कानुनले निर्वाचन अवधिमा पनि सैद्धान्तिक रूपमा नगर्ने भन्छ ।’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

प्रतिक्रिया