शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

काठमाडौँ २१ मा ड्राइ राइजरको सफल परीक्षण

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा नंं २१ मा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण भएको छ । ह्युमत करुणामय मार्गदेखि दलाछी गणेशस्थानसम्म दमकल छिर्न नसक्ने गल्लीमा वडाले जडान गरेको १३० मिटर लामो फायर फाइटिङ्ग पाइप लाइनमा वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रकहरूले परीक्षण गरेका हुन् ।

परीक्षणका क्रममा एक ठाउँमा पानी चुहिएको थियो । त्यस ठाउँमा परीक्षणकै क्रममा सुधार गरिएको थियो । प्रणाली जडानको लागत करिब ८ लाख रूपैयाँ रहेको वडा कार्यालयले जनाएको छ । 

अग्नि नियन्त्रक नरेशराज कुँवरका अनुसार १३० मिटर लामो पाइप लाइनको दुवैतिर इनलेट राखिएको छ । दुवै इनलेटबाट दमकलको पानी जोड्न सकिन्छ । लाइनको बिचमा ४ वटा आउटलेट छन् । आगलागीको स्थानमा नजिक पर्ने कुनै पनि आउटलेटबाट पाइप जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।‘ कुँवर भन्छन्,  ‘८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुगेको थियो ।’ 

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो ।