शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

अष्ट्रेलियाले दियो अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ : अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड–१९ माहामारी विरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूका लागि अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । 
अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याईएका सो सामाग्रीहरु नेपालका लागि अष्ट्रेलियली राजदूत फेलीसीटी वोल्कले आज नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी हुन् । 

दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रिय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएको छ । ‘नेपाली सेनाले अग्रपंक्तिमा रहेर देशभर समुदायमा पुर्याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव व्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरू प्रदान गरिएको हो,’ राजदूत वोल्कलाई उद्धृत गर्दै दूतावासले भनेको छ, ‘क्षेत्रीय देशहरूसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपंक्तिमा कार्यरतहरू पीपीई लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु  प्रदान गर्न सहकार्य गरिरहेको छ ।’

राजदूतले अष्ट्रेलिया र नेपालको लामो समयदेखि विपद्का समयमा सहकार्य गर्ने इतिहास रहेको भन्दै यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियनहरूको सद्भाव प्रदर्शन भएको उल्लेख गरेकी छिन् । आज ल्याईएका १८ लाख अष्ट्रेलियन डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जिकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेको बताइएको छ । 

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरू मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने तालीमका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियन डलर बाहेकको यो थप सहयोग भएको दूतावासले जनाएको छ ।