शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

हुम्लामा लक्षणविनाका सङ्क्रमित

सिमकोट: हुम्लाका अधिकांश गाउँपालिकामा कोभिडको लक्षण विनाका सङ्क्रमितहरू  देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षणविनाका बिरामी देखिन थालेका हुन् ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भए पनि दश दिन आइसोलेसनमा बस्दा सङ्क्रमितहरू लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए । कोभिड भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरूमा कुनै पनि लक्षण नदेखिएको चिकित्सक लामाले बताए ।

जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परीक्षण गर्दा १ सय ७५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए। कोभिड पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनको भनाइ छ ।