कोशीमा एक्लै हिँड्दा सरकार विस्तार गर्न बिर्सेका मुख्यमन्त्री कार्की
'कुशलतापूर्वक सरकार सञ्चालन गर्न सकेनन्'

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएको झण्डै तीन महिना पुग्न लागेको छ । गत असोज २७ गते ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री बनेका हुन् ।
दुई पटक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत प्राप्त गर्न असफल भएका थिए ।
तर, केदार कार्की एमालेसहित अन्य दलको समर्थनमा ४७ सांसदको समर्थन पाउन सफल भए । तिनै कार्की कोशी प्रदेशका मुख्य मन्त्री छन् । उनी मुख्यमन्त्री भएको दुई महिनाभन्दा बढी भइसकेको छ । लगत्तै उनले मन्त्रिमण्डलमा कांग्रेसबाट शमशेर राई र एमालेबाट रामबहादुर मगरलाई मन्त्री नियुक्त गरेका थिए ।
हाल तीन मन्त्रीसहित कोशी प्रदेश हाकिरहेका शमशेर राई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय र कमलप्रसाद जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहेका छन् ।
तत्कालीन समयमा विश्वासको मत लिने बेलामा उनले नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा राप्रपाबाहेकका अन्य दलकाे साथ पाएका थिए ।
मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिनेलाई विश्वास दिलाउन नसक्दा सरकारबाट नेकपा एमालेको साथ गुमाइसकेको छ । सरकारबाट एमालेले साथ छोडिसकेको छ । यद्यपि एमालेले समर्थन भने फिर्ता लिएको छैन ।
मुख्यमन्त्री कार्की कोशी प्रदेश सभामा उपस्थितिको हिसाबले कमजोर रहे पनि गठबन्धनका सहयात्री दलहरू माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपालाई लिएर साथमा हिँडिरहेका छन् ।
हालसम्म कार्कीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । उनी सरकारले पूर्णता नपाउनुमा केन्द्रीय गठबन्धन र एमालेलाई दोष थुपार्दै जिम्मेवारीबाट पन्छिँदै छन् ।
तीन मन्त्रीको साथमा उनले कोशीलाई हाँकिरहेका छन् । मन्त्रिपरिषदको समयमा विस्तार नहुँदा मन्त्रालयको तर्फबाट जनताको लागि गर्नुपर्ने काम हुन सकेको छैन । तर, मुख्यमन्त्रीलाई आफ्नो सत्ता प्यारो भएको छ ।
एमालेलाई अपजस दिँदै कार्की मन्त्रिपरिषद् विस्तार गर्नबाट भाग्दैछन् । जस लिन माहिर कार्की विश्वासको मत दिने एमालेलाई साथ नराख्दा सरकारको एक्लो यात्रामा मस्त छन् । केन्द्रीय गठबन्धनदेखि प्रदेश गठबन्धनको आडमा उनी सरकारमा रहनेमा ढुक्क छन् ।
कोशी प्रदेश सभाका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीको कार्य क्षमता, कुशलता र आफूप्रतिको बुझाइ नै पहिलो चरणमा सरकार सञ्चालनमा कार्की असफल रहेको बताएका छन् ।
सरकार विस्तार गर्न ढिला गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । गठबन्धनलाई सरकार विस्तार गर भनेर एमालेले मार्ग प्रदर्शन गरिदिएको उनले बताए ।
'मुख्यमन्त्री कार्कीले कुशलतापूर्वक सरकार सञ्चालन गर्ने जिम्मेवारी बोध नगर्दा पनि सरकार विस्तारमा ढिलाई भएको हो,' उनले भने, 'गठबन्धनले मनोवैज्ञानिक रूपमा उनलाई स्वीकारेका छैनन् । सरकार सञ्चालनमा ठीक ढंगले दृष्टिकोण निर्माण गर्न सक्दैनन् ।'
कार्कीले सरकार सञ्चालन तथा विस्तारमा एमालेसँग समन्वय नगरेको भण्डारीले आरोप लगाए । प्रतिपक्ष एमालेले भेट्न खोज्दा उनले समय नदिएको दाबी गरे । 'सरकार सञ्चालनका विषयमा छलफल गर्न खोज्दा समय दिएका छैनन्,' उनले प्रस्ट पारे ।
सरकार सञ्चालनको गतिविधि हेर्दा उनी सुरुवातमै असफलताको बाटोतर्फ लागिसकेको उनले बताए । 'सर्वदलीय सरकारमा हामी सहभागी हुँदैनौँ भनेर बारम्बार भनिसकेका छौं । गठबन्धनको सरकारमा सामेल हुँदैनौँ,' भण्डारीले अगाडि थपे, 'सरकार विस्तार र काम गर्न एमालेले कुनै पनि अवरोध गरेको छैन ।'
उनले गठबन्धनको सरकारलाई सहज तरिकाले काम गर्न दिन एमालेको मन्त्रीहरू सरकारबाट फिर्ता गरिएको सुनाए । सरकारको गलत कामको जमेर प्रतिवाद तथा भण्डाफोर गर्ने उनले बताए ।
केन्द्रीय गठबन्धनका कारण कोशी प्रदेशमा मन्त्रिपरिषद हुन नसकेको मुख्यमन्त्री केदार कार्कीले बताए । गठबन्धनको सहमतीय सरकार बनाउने सहमति भएकाले मन्त्रिपरिषदमा विस्तार गर्न केही समय ढिलाई भएको कार्कीले प्रस्ट पारे ।
सभामुख नहुनु पनि विस्तारको एउटा कारण रहेको उनको ठहर छ । सभामुख चयन गर्नलाई संसदलाई सूचना निकाल्न आग्रह गरिसकेको उनले जानकारी दिए ।
'सरकारबाट फिर्ता गएका एमालेलाई बोलाएर सरकार बनाउन लागिरहेका छौ,’ उनले अगाडि थपे, 'एमालेले सर्वदलीय सरकार नचाहेकाले पनि सरकार विस्तारमा समस्या छ ।'
बाँकी मन्त्रालयमा मन्त्री नभए पनि काम कारबाही गर्न सहज भइरहेको कार्कीले बताए । बजेट गइरहेको कार्यान्वयन भइरहेको उनको भनाइ छ । मन्त्रीले समन्वय मात्र गर्ने र बाँकी काम मन्त्रालयबाट हुने भएकाले मन्त्रालयको काममा कुनै पनि बाधा अवरोध नभएको उनको ठम्याइ छ ।
कोशी प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दलहरूबीच प्रदेश सभामा सभामुखको निर्वाचनपश्चात् सरकार विस्तार गर्ने सहमति भएको बताएका छन् ।
'सभामुख चयन भएपछि सरकार विस्तार गरौँ भन्ने छ । अरू कुनै पनि राजनीतिक कारण छैन,' उनले भने, 'उपसभामुखले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छैनन् ।'
निर्वाचनको तालिकासम्बन्धी कानुनी व्यवस्था रहेको उनले बताए । 'किन सार्वजनिक गर्न सकेका छैनन् त्यो उपसभामुखलाई मात्र थाहा होला,' उनी भन्छन्, 'माओवादीका तर्फबाट कुनै पनि कारण छैन । नयाँ सभामुख चयन भए पछि सरकार विस्तारको प्रक्रिया अगाडि बढाउने सोचाइमा छौं ।'
सरकारमा सहभागिता हुन बनेको समझदारी अनुसार सरकारमा माओवादीको सहभागिता हुने उनले बताए । मन्त्रिपरिषद् विस्तार गर्न पुनः छलफल हुने उनले जानकारी दिए ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया