बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

भन्सार एजेन्टको परीक्षा रोकिएपछि भन्सारको कामकाज प्रभावित

काठमाडौँ : भन्सार विभागले समयमा भन्सार एजेन्ट नियुक्त गर्न नसकेपछि भन्सार कार्यालयहरूको दैनिक कामकाज प्रभावित भएको छ । सर्वोच्च अदालतले भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि परीक्षा रोकिएको हो । देशभर ३८ भन्सार कार्यालय र ती अन्तर्गत १३३ छोटी भन्सार कार्यालयहरूमा करिब १३५ जना भन्सार एजेन्ट छन् । 

भन्सार विभागले २०५३ र २०५६ सालमा पाँच सय ८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । २१ वर्षपछि आईपुग्दा यो संख्या घट्दै गयो । अहिले १ सय ७० एजेन्ट कार्यरत छन् । नयाँ भन्सार एजेन्टको परीक्षा नहुँदा दैनिक कामकाज गाह्रो भएको विभागका अधिकारीहरू बताउँछन् । कोभिड-१९ को पहिलो लहरको संक्रमण नियन्त्रणमा आएपछि वैदेशिक व्यापारमा वृद्धि भइरहेको छ । तर, पर्याप्त भन्सार एजेन्ट पदपूर्ति हुननसक्दा जाँचपासमा निकै चाप पर्ने गरेको कर्मचारीहरूको गुनासो छ । 

२१ वर्षपछि विभागले गत चैत १६ मा भन्सार एजेन्टको परीक्षाका लागि आवेदन खुलाएको थियो । ६६० जनाको लागि आवेदन फारम माग भएको थियो ।लिखित परीक्षा र अन्तर्वाता समेत लाई आधार बनाई भन्सार एजेन्ट छनोट गर्ने तयारी गरेको थियो । परीक्षामा सहभागि हुन दरखास्त फाराम भर्न बञ्‍चित गरिएको भन्दै १२ जनाले सर्वोच्च अदालतमा रिट दायर गरे ।  बैशाख ५ मा अदालतमा रिट पर्‍यो । बैशाख १२ गते अल्पकालीन अन्तरिम आदेश जारी दियो ।