महाकाली करिडोर : कञ्चनपुर खण्डमा खोलियो ‘ट्र्याक’
बेदकोट (कञ्चनपुर)- महाकाली करिडोरअन्तर्गत कञ्चनपुर-डडेल्धुरा खण्डमा सडकको ‘ट्र्याक’ खोलिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सादनीसम्मको ट्र्याक खोलिएको हो ।
ट्र्याक खुलेसँगै ब्रह्मदेव भएर डडेल्धुराको परशुरामसम्म गाडी सञ्चालन गर्न सकिने निर्माण कम्पनी दिवा सनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए ।
'जिरो प्वाइन्टदेखि डडेल्धुरासम्मको १५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सकिएको छ । तत्काल एकतर्फी गाडी चलाउन सकिन्छ,' उनले भने, 'दुईतर्फी गाडी चलाउन मिल्ने गरी फराकिलो बनाउँछौँ ।'
उनका अनुसार हाल पाँच मिटर चौडाइ रहेको सडक १० मिटर चौडाइसम्म पुर्याइनेछ । ट्र्याक खोल्ने क्रममा कटान गरिएका रुख सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए । विसं २०७८ मा दिवा सनिदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको चार किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो ।
कटान आदेश नआउँदा सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । विसं २०७९ फागुनमा कटान आदेश आएसँगै सडक निर्माणको कामले गति लिएको थियो । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवदेखि डडेल्धुराको सीमासम्म ११ किलोमिटरमा एक हजार पाँच सय ३२ रुख र चार सय १९ पोल साइजका साना रुख पर्छन् । तीमध्ये रुख र पोल साइजका गरी एक हजार नौ सय ५१ रुख कटानको आदेश आएको एक वर्षको अवधिमा ट्र्याक खोलिएको हो ।
कञ्चनपुर-डडेल्धुरा सडक खण्डको १५ किलोमिटर ट्र्याक खुलेसँगै डडेल्धुराको जोगबुढासम्म सवारी साधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन् । 'बाटो नहुँदा जोगबुढा तथा महेन्द्रनगरतर्फ आउजाउ गर्न समस्या थियो । ट्र्याक खोलेसँगै सहज हुनेछ,' भीमदत्त नगरपालिका-९ मसेट्टीका स्थानीय कर्ण विकले भने, 'छिट्टै गन्तव्यमा पुगिन्छ । अब चाँडै कालोपत्र भए हुन्थ्यो ।' रासस

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया