चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

भरतपुर (चितवन)- पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।
सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुनसकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए। महोत्सवले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासमा सहयोग पुर्याएको उनले बताए ।
साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ । अधिकारकर्मीहरूले प्रश्न उठाउन थालेपछि व्यवसायीहरूले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत् राखिएको छ ।
महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम राखिएको छ । स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने महोत्सवमार्फत लक्ष्य राखिएको छ ।
चितवनको पर्यटन पवर्द्धनका लागि स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गरी दायित्वबोध गराउन अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको सङ्घका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेको भनाइ छ । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी गराउनुका साथै स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग ‘बिटुबी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने उनले बताए ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया