विद्यालयलाई दश रोपनी जग्गा दान
म्याग्दी- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् ।
शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् ।
नेपाल सरकारको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराएका शेरचन परिवारले थप रु तीन लाख ३५ हजार सात सय ७७ राजस्व र रु पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोरेको ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिए ।
'मालपोत कार्यालय म्याग्दीबाट औपचारिक रूपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ,' उनले भने, 'बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।'
हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए । विद्यालयका संस्थापक स्व उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरूले सो जग्गा दान गरेका हुन् ।
जग्गा दान गर्नेमा धनबहादुर/उषा शेरचन, स्व ताराकुमार शेरचनकी श्रीमती जयाकुमारी शेरचन, अमिक शेरचन/शान्ति शेरचन, चित्रलाल शेरचन/तेजकुमारी शेरचन, खगेन्द्र शेरचन/मीना शेरचन, प्रान्ति शेरचन/विश्वप्रभा शेरचन, काजु शेरचन/धनकुमारी शेरचन, दीपेन्द्र शेरचन/फूलमाया (घर्ती) शेरचन, नवरत्न शेरचन/मीना शेरचन, गुप्तमा (दशरथ) शेरचन/नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहेका छन् ।
विसं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । जग्गा दाता शेरचन परिवारको पुर्ख्यौली थलो ओखरबोट हो । उनीहरू हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन् । रासस

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया