संसद् सेवा दिवसमा मैत्रीपूर्ण फुटसल : राष्ट्रियसभाको पोस्टमा प्रतिनिधिसभाको चार गोल
काठमाडौँ- सत्रौँ संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
भृकुटीमण्डपस्थित फुटसल कोर्टमा २० मिनेटसम्म भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुबोधले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एक एक गोल गरेका थिए ।
पहिलो र दोस्रो गोल सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गरेका थिए । प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।
प्रतिनिधिसभाको टोलीमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा राना, सांसदहरू सापकोटा, श्रेष्ठ, शर्मा, मनिष झा, प्रदीप यादव र तारामान लामा थिए भने राष्ट्रियसभाको टोलीमा अध्यक्ष तिमिल्सिनासहित रमेशजङ्ग रायमाझी, गोपी अछामी, मायाप्रसाद शर्मा, डा खिमलाल देवकोटा, भैरवसुन्दर श्रेष्ठलगायत सहभागी थिए ।
सो अवसरमा सभामुख घिमिरेले संसद् सेवा दिवसलाई मैत्रीपूर्ण फुटसल खेलेर उत्सवका रुपमा मनाउन लागिएको प्रतिक्रिया दिए । “नेपालमा फुटसलको विकास भएको केही समय भयो, सानो ठाउँमा पनि फुटसलको अभ्यास गर्न सकिने भएकाले आफूहरू खेल प्रवर्द्धन गर्न र युवायुवतीलाई उत्साह प्रदान गर्न सहभागी भएका हौँ”, उनले भने । राजनीति र फुटसल एकै प्रकारको भएको उल्लेख गर्दै उनले फुटसल भौतिक रुपमा र राजनीति विचारका रुपमा खेलिने बताए ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले देशको चौतर्फी विकासका लागि खेल महत्वपूर्ण विधा भएको र यसले समूहमा काम गर्न तथा अनुशासन कायम गर्न सहयोग मिल्ने बताए । उनले भने, “युवापुस्तालाई खेलकुदमा प्रोत्साहन मिलोस् भनेर आफूहरू मैदानमा उत्रिएका हौँ, खेलकुदमा बालबालिका र युवा आकर्षित भइदिए मेसी र रोनाल्डोका मात्रै नाम किन लिने, आफ्नै देशका प्रतिभावान् खेलाडीको नाम लिने अवस्था आओस्, हामी त्यस दिशातर्फ लाग्नुपर्छ ।”
उपसभामुख रानाले सदनमा दबाबमा कानुन निर्माणको काममा सधैँभर लाग्नुपर्ने अवस्थाबाट केही समय मुक्त हुन फुटसललगायत खेलमा संलग्न हुन आवश्यक रहेको बताए । उनले भने, “भलिबल र साइक्लिङमा आफ्नो रुचि भए पनि संसद् दिवसलाई रमाइलो तुल्याउन फुटसलमा सहभागी भएकी हुँ ।” प्रतियोगितामा पाँच महिलासहित कूल २२ फुटसल टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । रासस

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया