शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

उदयपुरमा कोभिडबाट दुई छोरा र आमाको मृत्यु

फाइल तस्बिर

उदयपुर : कोभिड-१९ सङ्क्रमणका कारण रौतामाई गाउँपालिका-७ मुर्कुचीमा एक हप्ताभित्र दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।

आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोभिड उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

यसरी एउटै घरका दुई छोरा र आमाको कोभिडका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । (रासस)