किन विवादमा आए सभामुख ?

पोखरा : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी फेरि एक पटक विवादमा तानिएका छन् । बुधबार प्रदेश सभामा विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा एक सांसदको भनाइ संसदको रेकर्डबाट हटाउन भनेपछि उनी विवादित बनेका हुन् । सदनमा बोल्दै एमाले सांसद मनबहादुर गुरुङले कार्यव्यवस्था परामर्श समितिका सदस्यले राजीनामा दिनुपर्ने बताएका थिए । सभामुख अधिकारीले ‘राजीनामा’ शब्द सुन्नासाथ नियमावली हेर्नुस् भन्दै बिचमा बोलेका थिए ।
बैठक अन्त्य गर्ने बेला सभामुख अधिकारीले सांसद गुरुङको भनाइ सदनको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । एक महिना अघि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक जना विपक्षी सांसद अनुपस्थित हुँदा बैठक अनिश्चितकालागि स्थगित गरेर विवादित बनेका थिए ।
सांसद मनबहादुर गुरुङले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथि १५ वैशाखमा मत विभाजन हुने गरी निर्धारित प्रदेश सभा बैठक कसले आकस्मिक रुपमा स्थगन गरेको थियो ? भन्ने प्रश्न गरेका थिए । ‘१५ गते मतदान हुने भनेर कार्यसूचीमा आइसकेको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रमलाई एकाएक सत्तापक्ष वा सरकारले सूचना टाँस गरेको हो ?’ उनले भने, ‘यसमा नैतिकता छ भने कार्य व्यवस्थामा बस्नेहरुले राजीनामा दिनुपर्दैन ?’ त्यसलगत्तै सभामुखले सांसद गुरुङलाई नियमावली हेर्नुहोस् भनेका थिए ।
प्रदेश सभाका विपक्षीले सत्तापक्षलाई नैतिक प्रश्न गरिरहेपछि सांसद गुरुङले १५ वैशाखको घटना स्मरण गरेका हुन् । उक्त दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मत विभाजन गर्ने कार्यसूची थियो । तर जनमोर्चाका एकजना सांसद अनुपस्थित हुँदा उक्त प्रस्ताव विफल हुने देखी सभामुखले बैठक नै अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
सांसद गुरुङले प्रश्न उठाएपछि सभामुखले नियमावलीअनुसार बोल्न सांसद गुरुङलाई आग्रह गरे । गुरुङले सरकार संविधानको १६८ को उपधारा ४ बमोजिम बनेको हुँदा वैधानिक भएको सुनाए । उनले भनाइ टुंग्याइसकेपछि सभामुखले गुरुङको भनाई संसदको रेकर्डबाट हटाउन आदेश गरेका हुन् ।
‘विद्वान माननीयज्यूहरुले नैतिकताको कुरा बारम्बार उठाउनुभएको छ । म यो नैतिकताको बारेमा व्यवहारको बारेमा, इमान्दारिताको बारेमा प्रश्न उठाइदिनुहुने माननीयज्यूहरुलाई धन्यवाद दिन चाहन्छु,’ सांसद गुरुङले बुधबारको बैठकमा भनेका थिए, ‘अहिलेसम्म विज्ञानले नैतिकतालाई मापन गर्ने यन्त्र बनाएको त मैले देखेको छैन ।’
सांसद गुरुङले नैतिकताको मापन गर्ने यन्त्र जनता भएको पनि बताए । ‘हिजो जनताको बीचमा गएर सबैभन्दा ठूलो दल भएर आएको यो नैतिकता होइन ? उनले प्रश्न गरे । ‘यदि यो पनि भएन फेरि ५ वर्षमा हामी जनताको बीचमा जान खोज्दैछौं । यही हो एकमात्रै मापन भन्ने मलाई लाग्छ,’ उनले भने ।
सभामुखले ‘झोंकको आधारमा’ सदनको रेकर्डबाट हटाउन निर्देशन दिएको एमाले सांसद धनञ्जय दवाडी बताउँछन् । ‘मनबहादुर माननीयले कार्यव्यवस्थाको राजीनामा भन्नुभएको थियो, नबुझी झोंकमै सभामुखले रेकर्डबाट हटाउन निर्देशन दिनुभयो,’ उनले भने । सभामुखले एकतर्फी रुपमा हेरेर सदनको रेकर्डबाट हटाउन लगाएको एमाले सांसद दवाडीले बताए । ‘प्रदेश प्रमुख, राष्ट्रपतिमाथि लगातार अनैतिक, सेटिङमा चलेको भन्दा नियमावली संगत हुने, आफूविरुद्ध बोल्न लागेपछि नियमावली हेर्नुपर्ने ?’ उनको प्रश्न छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी सभामुख ठीक ढंगले अघि नबढेको बताउँछन् । सदनमा राष्ट्रपतिमाथि महाअभियोगदेखि संघीयता खारेजीको विषयमा केही एक्सन नलिएका सभामुखले एमाले सांसदले नैतिकताको प्रश्न उठाउँदा आक्रोशित बन्नु शंकास्पद रहेको बताए । ‘हटाउने भए सबैको रेकर्ड हटाऔं, आवेगमा आएर हुन्छ ? सभामुखले ठीक गर्नुभएन,’ उनले भने । सभामुखमा राजीनामा शब्दले डर पलाएको उनी बताउँछन् । ‘हामीले निर्णय नै गरेर राजीनामा त मागेका थिएनौं पहिला पनि, अहिले राजीनामा शब्दले डर पलाएछ,’ उनले भने ।
यसअघि पनि सभामुख अधिकारी विवादित बनेका थिए । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनको राजीनामा पनि माग्नु पर्ने अवस्था आएको भन्दै छलफल चलेको थियो । मुख्यमन्त्री स्वयंले पनि सर्वदलीय बैठकमा सभामुख अधिकारी पार्टी कार्यकर्ताको रुपमा चलेको भन्दै राजीनामा माग्न सकिने बताएका थिए ।
विपक्षीमा विघटनको डर
प्रदेश सभाका विपक्षीहरुमा संसद विघटन हुन सक्ने डर पलाएको छ । सरकारले विश्वासको मत नलिई बजेटको प्रक्रिया थाल्नु, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाइनुले सदन विघटनको डर पलाएको विपक्षी सांसदहरुले सदनमा जनाए । नेपाली कांग्रेसकी सांसद ओमकला गौतमले निर्वाचन क्षेत्र विकास कार्यक्रम हटाइनुले प्रदेश पनि विघटनको बाटोमा भएको पुष्टि गरेको बताइन् । मुख्यमन्त्री गुरुङले यसअघि पनि सेटिङ नमिल्दा राजीनामा दिएको र सेटिङकै कारण प्रदेश प्रमुख फेरिएको उनको आरोप थियो । ‘सेटिङ नमिलेपछि राजीनामा दिएको होइन ? प्रदेश प्रमुख फेरिएको होइन ? विघटनको नियतले निर्वाचन क्षेत्र कार्यक्रम सम्बोधन पनि गरिएन,’ उनले बताइन् ।
राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले सरकार मध्यावधि निर्वाचनमा जान लागेको शंका गरे । ‘केन्द्रको बजेटमाझैं यहाँ पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम देखिएन । कि सरकार विघटनको सोचमा छ र ?’ उनले भने । कांग्रेस सांसद डोबाटे विश्वकर्माले राष्ट्रपति र प्रधानमन्त्रीले सेटिङमा सत्ता जोगाउन देशको कुनै प्रदेश बेच्न सक्ने आरोप लगाए । सांसद मनकुमारी गुरुङले विधि विधान अनुसार नचलेको सरकारलाई आफूले कुनै सुझाव नदिने बताइन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया