आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

नेकपाभित्रको विवादमा कांग्रेसलाई कुनै सरोकार छैन : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपाभित्रको विवादमा कांग्रेसलाई कुनै सरोकार नभएको बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता सिंहले नयाँ सरकार गठनको हल्लामा कांग्रेसलाई नजोड्न पनि आग्रह गरेका छन् । 

उनले पाँच बर्षसम्म प्रतिपक्षीमा बस्‍न जनताले दिएको म्यान्डेड अनुसार आफुहरू बिपक्षीकै भूमिकामा रहने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको कुरासंग सत्ता राजनीतिको कुनै अर्थ नरहेको बताए । 

सिंहले महिनौ देखि आन्तरिक कलह र कुर्सीको खेलमा सत्तारुढ दल नेकपा लागेकाले  महामारीको बेला समेत जनताको समस्याप्रति सरकार बेखबर रहेको उल्लेख गरे । ओली नेतृत्वको सरकारले संघियताको मर्म र भावना बिपरित काम गरिरहेको र महामारीका बेला भ्रष्टाचार नै तल्लीन रहेको आरोप सिंहको थियो ।

फरक प्रसंगमा नेता सिंहले सरकारले पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि आफ्नो दलका नेताहरूको नामाकरण गर्न थालेको भन्दै आपत्ती जनाए । उनले पुराना इतिहास बोकेका पार्कहरू अतिक्रमण गरे राम्रो नहुने भन्ँदै इतिहासलाई सम्मान गर्न आग्रह पनि गरे ।