आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

स्वास्थ्यकर्मीलाई धम्काएको आरोपमा युवक पक्राउ

जनकपुरधाम : समाजिक सञ्‍जाल फेसबुक पेजबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्काएको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । वीरगंज नगरक्षेत्रमा रहेका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट पटक-पटक  आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाएर चरित्रहत्या गर्दै धम्क्याएको आरोपमा वीरगंज महानगरपालिका-१० घडिअर्वाका सौरभ साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको जाहेरी दरखास्तको आधारमा आफूलाई सञ्‍चारकर्मी तथा समाजिक अभियन्ता भनी Y.O.B. नामको फेसबुक ग्रुप पेज चलाउने साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

साहविरूद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।