न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबीच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत र नेपाल सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.रुपक महर्जनले भविष्यमा न्याम्सले सशस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारीपछि न्याम्सले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि विस्तार गर्ने छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच भएको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे । मन्त्री बस्नेतले शान्ति सुरक्षाका अलावा सशस्त्र प्रहरीले स्वास्थ्य उपचारका क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको भन्दै स्वास्थ्य मन्त्रालयले सशस्त्र प्रहरी अस्पताललाई सक्दो सहयोग जारी राख्ने आश्वासन दिए ।
नेपाल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले न्याम्ससँगको शैक्षिक समझदारीले भविष्यमा सशस्त्र प्रहरी अस्पतालले मेडिकल कलेज स्थापना गर्ने ढोका खोल्ने बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.देवकुमारी गुरागाइले चिकित्सा क्षेत्रमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा यो समझदारीले फड्को मार्ने बताइन् । न्याम्सका उपकुलपति प्रा.डा.बस्नेतले न्याम्सका पदाधिकारीले निरीक्षण गर्दा सशस्त्र प्रहरी अस्पतालले प्रदान गरिरहेको उपचार सेवा र पर्याप्त भौतिक पूर्वाधार भएको पाइएपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।
सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.महर्जनले यो समझदारीपछि सशस्त्र प्रहरी अस्पतालमा शैक्षिक वातावरण सिर्जना हुने बताउँदै यसले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे । न्याम्सका रेक्टर डा. लोचन कार्कीले न्याम्सले अनुगमन र निरीक्षणपछि देशका विभिन्न हस्पिटलहरूसँग सहकार्य गर्दै आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम अगाडि बढाइरहेको बताए ।
न्याम्सका रजिस्ट्रार डा. ज्ञानेन्द्र शाहले सशस्त्र प्रहरी अस्पताल र न्याम्सबीच भएको समझदारीले चिकित्सा शिक्षामा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । ११० शय्याबाट सुरु गरिएको सशस्त्र प्रहरी अस्पताल अहिले १९० शय्यामा सञ्चालित छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया