सञ्चारमन्त्री शर्माकाे आग्रह : विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । सञ्चार मन्त्रालय अन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को आज बसेको बैठकमा उनले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गरेकी हुन् ।
यस्तो विपद्का समयमा सरकार मातहतका सञ्चार माध्यमको विशेष भूमिका र दायित्व रहने भन्दै मन्त्री शर्माले राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निर्देशन दिइन् ।
मन्त्री शर्माले भनिन्, 'हुन त सूचनाको महत्व सधैं छ यहाँहरूले बुझी नै रहनुभएको छ । तर, पनि यस्तो विपद्का बेलामा सम्प्रेषण हुने सही समाचारले विपद् न्यूनीकरणलाई सघाउँछ र भ्रमपूर्ण समाचारले पीडितलाई थप पीडा पुग्नुका साथै उद्धारको कामलाई उल्टो प्रभावित पार्छ । त्यसैले यस्तो बेलामा समाचार सम्प्रेषण गर्दा थप संवेदनशील हुनुपर्छ ।'
सत्यतथ्य र सही समाचारको सम्प्रेषणले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सरकारलाई पनि सहज हुने भन्दै प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहायता पुग्ने र उद्धारकर्मीलाई सहज हुने गरी सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गरेकी हुन् ।
यस्तो विपद्का बेला पनि कहीँ कतै भ्रमपूर्ण र आधारहीन सूचना सम्प्रेषण हुने गरेका र यसबाट विपद्मा परेकाको सहयोग र उद्धारको सट्टा उल्टै भ्रम सिर्जना भई पीडितमा थप पीडा पुग्ने भएकाले यसतर्फ सजग रहन पनि उनले सरकार मातहतका सञ्चारमाध्यमलाई विशेष निर्देशन दिइन् ।
त्यसैगरी भूकम्पपछिको ७२ घण्टा सतर्क रहनुपर्ने समय भनिएकाले सोहीबमोजिम आ–आफ्ना सेवालाई निरन्तर राख्दै नागरिकलाई सूचनाका माध्यमबाट सतर्कता अपनाउने वातावरण निर्माण गर्न उनले निर्देशन दिइन् ।
उनले सामाजिक सञ्जालमा नागरिक तर्सिने खालका भ्रमपूर्ण प्रकृतिका सूचना आएमा त्यसलाई निस्तेज पार्ने गरी सही र पीडितको राहत र उद्धारका काममा सहयोग पुग्ने खालका सूचना निर्माण गरी प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिइन् ।
मन्त्री शर्माले जाजरकोट र रुकुम पश्चिममा सञ्चार अवरुद्ध हुन नदिन, सञ्चारमा नेटवर्कको समस्या देखियो भने तत्कालै समाधान गर्नका लागि प्राविधिक टोली खटाउन र त्यहाँ भूकम्पको उद्धारसम्मका लागि सञ्चारको निःशुल्क र चुस्तदुरुस्त बनाउन नेपाल टेलिकमलाई निर्देशन दिइन् ।
त्यसैगरी प्रभावित जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन नदिनका लागि पनि सम्बद्ध निकायसँग आवश्यक समन्वय गर्न पनि उनले निर्देशन दिएकी थिइन् । मन्त्री शर्माले तत्कालका लागि उद्धारको काम जारी रहेकाले त्यसमा ध्यान दिन र त्यसपछि राहतका काममा पनि सम्बद्ध सबै निकाय तथा व्यक्ति परिचालन हुने कार्यलाई सहजीकरण गर्न नेपाल सरकारका सबै निकायले आआफ्ना स्थानबाट पहल कदमी दिन पनि आग्रह गरिन् ।
सञ्चार मन्त्रालय अन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को बैठक आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

प्रतिक्रिया