पोखरामा आयातित फूल प्रतिबन्ध
व्यवसायी भन्छन्- पोखराको फूलले तिहार धान्दैन

पोखरा- पोखरा महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै बाहिरका फूल आयातमा कडाइ गरेको छ । सूचना अनुसार महानगरले प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा पनि पूर्ण रोक लगाएको छ । भने, सयपत्री फूलको माला संघीय सरकारले आयातमा बन्द गरेकाले त्यो पनि कार्यान्वयन गर्ने जनाएको छ ।
‘वातावरण संरक्षण ऐनले प्लास्टिकको फूलगुच्छाको बिक्री वितरण तथा भण्डारणमा पूर्ण निषेध गरेको छ,' पोखराका मेयर धनराज आचार्यले भने, ‘संघीय सरकारले कात्तिक १ देखि आयातित सयपत्री माला बन्द गरेकोले उक्त निर्णय कार्यान्वयन गर्न महानगरले सूचना जारी गरेको हो ।’
महानगरले स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न निर्देशन दिएको हो । मेयर आचार्यका अनुसार महानगरले अनुगमनलाई कडाइ गर्नेछ । पोखरा भित्रका स्थानीय पुष्प व्यवसायी तथा पोखरा महानगरपालिकाको सहयोगमा १ सय ६५ रोपनी क्षेत्रमा किसानलाई महानगरले सयपत्री फूल खेती प्रवर्द्धन गरेको भन्दै आवश्यक फुलको लागि वडास्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
तर, व्यवसायीहरू भने पर्याप्त मात्रामा फूल नभएकाले पोखरामा फूलको माग धान्न गाह्रो पर्ने बताइरहेका छन् । व्यवसायीहरूका अनुसार पोखरामा यसपटकको तिहारमा भाइटीकाबाहेक अरु दिन भारतकै फूलमा निर्भर हुनुपर्ने देखिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्वाले मौसम प्रतिकूलताका कारण फूल खेतीलाई असर गरेको बताए । फूलको बिउ उमार्नेदेखि लगाउने समयमा अत्यधिक पानी परेकाले खेती फस्टाउन नसकेको उनको भनाइ थियो ।
‘फूलको बिउ उमार्ने बेला नै पानी पर्यो । फूलखेती राम्रोसँग फस्टाउन सकेन,’ उनले भने, ‘सोही कारण पनि यो पटक धेरै फूल फुल्न गाह्रो छ ।’ उनका अनुसार अघिल्लो वर्षभन्दा बढी फूल भारतबाट भित्र्याउनुपर्नेछ ।
कुनै समयमा तिहारका लागि पोखरामा ९० प्रतिशतसम्म फूल भारतबाट आयात हुने गरेकोमा अघिल्लो वर्ष १० प्रतिशतसम्ममा झरेको उनले सम्झिए । उनका अनुसार भाइटीकाको दिन लगाउने माला स्थानीय उत्पादनले धान्ने भए पनि काग तिहार, लक्ष्मीपूजालगायतमा भारतको फूल प्रयोग गर्न उनको सुझाव थियो । द्वाले भने, ‘बाहिरबाट झरेको माला ढोकामा र अन्य पूजाको लागि प्रयोग हुन्छ, गलामा लगाउन भने यहींको उत्पादनले पुग्छ ।’
अर्का किसान गणेश बरामले दसैँ सुरु हुन नपाउँदै अधिकांश सयपत्री फक्रन थालेपछि तिहारमा समस्या पर्ने बताउँछन् । उनले लगाएका अधिकांश फूल अहिले फूलिसकेको छ । कतिपय फूल सुक्न थालेको छ भने फूलका बोटहरू समेत मर्न थालेका छन् । सुरुमा आवश्यकताभन्दा बढी वर्षा र चिसो हुनुपर्ने मौसममा गर्मी भएपछि समय अगावै फूल फक्रिएको किसानको भनाइ छ ।
यस्तै फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) को आयोजनामा पोखरामा चौथो संस्करणको पुष्प मेला शुक्रबारदेखि सुरु गरेको छ । मेलामा पोखरासहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ । त्यहाँ विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल छ । उक्त मेला सोमबारसम्म चल्नेछ ।
मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने पुष्प तथा फूलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए ।
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया