स्तन क्यान्सर के हो ? कुन उमेर समूहका मानिसमा बढी देखिन्छ ?

काठमाडौँ- स्वास्थ्य रहने सबै मानिसको चाहना हुन्छ । मानिसले स्वस्थ रहनका लागि विभिन्न प्रयास गरिरहन्छन् । मानिसले रोग लाग्न नदिन आफूलाई सुरुमा सचेत राख्नुपर्छ । कतिपय अवस्थामा मानिसले आफूलाई रोगबाट टाढा राख्न खोजे पनि रोग लागेर छोड्ने गर्छ ।
पछिल्लो समय वातावरण प्रदूषण र अव्यवस्थित खानपानका कारण प्राणघातक रोग लाग्ने गरेको छ । यस्ता प्राणघातक रोग लागि अनाहकमा मानिसले ज्यान गुमाउने गरेका छन् ।
यस्तै रोगमध्ये सबैभन्दा बढी प्राणघातक क्यान्सर रोगलाई मानिएको छ । त्यसमध्ये पनि हिजोआज स्तन क्यान्सर धेरै मानिसमा देखिन थालेको छ । बढी जसो महिलामा देखिने गरेको छ । तर, पुरुषमा यो रोग निकै कम मात्रा लाग्ने गरेको छ ।
धेरै मानिसहरू रोगलाई लुकाएर राख्ने, भन्न लजाउने, चेतनाको कमी र रोगको बारेमा जानकारी नहुँदा पछि जटिल बन्दै जान्छ । समयमा उपचार गरिएमा यस रोग निको पनि हुने गरेको छ ।
समयमा स्तन क्यान्सरको लक्षणलाई पहिचान गरी उपचार प्रक्रियामा लाग्ने हो भने यसको निदान गर्न सकिन्छ । त्यसैले समयमा लक्षण पहिचान गर्न जरुरी छ ।
कस्ता हुन्छन् स्तन क्यान्सरका लक्षणहरू ?
स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु
स्तनमा गाँठो, गिर्खा आउनु स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनमा कुनै असामान्य अवस्था त छैन भनी शंका लागेको अवस्थामा स्तनको परीक्षण गर्नु आवश्यक छ । स्तनमा कुनै किसिमको गाँठो त छैन भनी आफै निरीक्षण गर्न सकिन्छ । यस्तो गाँठोले पीडा नदिन पनि सक्ने भएकाले कतिपय महिला यसलाई खासै वास्ता गर्दैनन् । यस्तो गाँठो स्तनको कुनै पनि भागमा अथवा स्तन वरिपरि हुन सक्छ । धेरैजसो काखीको छेउमा यस्तो गाँठो आउने गर्छ । यदि स्तनमा अथवा यसको वरिपरि कुनै पनि किसिमको गाँठो छ भने तुरुन्त चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ । स्तन क्यान्सर भएको छ भने स्तनको आकार बढेर दुई स्तनको आकार फरक हुन सक्छ ।
स्तनको टुप्पोमा असाधारण परिवर्तन
स्तनको टुप्पोमा असामान्य परिवर्तन देखिएको छ र यसको कारण थाहा पाउन सकिएको छैन भने यो पनि स्तन क्यान्सरको लक्षण हुन सक्छ । स्तनको टुप्पोको दिशा परिवर्तन भएको छ, भित्र दबिँदै गएको छ अथवा आफ्नो स्थानमा सामान्य रुपमा छैन भने यो स्तन क्यान्सरको लक्षण हो ।
छाला खुइलिनु अथवा रङ परिवर्तन हुनु
त्यस्तै, स्तनको छालाको रङ असाधारण रुपले परिवर्तन हुनु पनि स्तन क्यान्सरको लक्षण हो । यदि स्तनको रङ रातो अथवा असाधारण देखिन थालेको छ भने परीक्षण गराउनु अत्यन्त आवश्यक छ । त्यस्तै, क्यान्सर लागिसकेको छ भने स्तनको टुप्पोको अथवा वरिपरिको छाला खुइलिन थाल्छ । सुन्तलाको जस्तो रंग देखिने गर्छ ।
असामान्य रुपले दूध, पानी अथवा रगत आउनु
स्तन क्यान्सर भएको छ भने स्तनबाट असाधारण रुपले दूध अथवा पानी बग्न थाल्छ । त्यस्तै, क्यान्सरले प्राथमिक चरण पार गरिसकेको छ भने गाँठो अथवा गिर्खा बढ्दै गएर स्तनबाट रगत पनि आउन थाल्छ ।
स्तन, हाडजोर्नीमा पीडा हुनु, घाउ हुनु, शरीरको तौल घट्न थाल्नु
क्यान्सरले प्रारम्भिक चरण पार गरिसकेको छ भने स्तनमा असामान्य रुपले पीडा हुन थाल्छ । त्यस्तै, हाडजोर्नीमा दुख्ने, शरीर झमझमाउने, कमजोर महसुस हुने र असाधारण रुपले शरीरको तौल घट्दै जान थाल्छ । शरीरको तौल घटाउने महिलाहरूको सोख हुन सक्छ । शरीरको तौल घट्दै गएको छ भनी मख्ख नपरी खानामा कमी नगरी र कुनै पनि व्यायाम नगरी शरीरको तौल घट्दै गएको छ भने यो स्तन क्यान्सरको लक्षण हुन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ । माथि उल्लिखित लक्षण क्यान्सरको मात्र लक्षण नभई अन्य रोगको पनि लक्षण हुन सक्छन् । त्यसैले डराइहाल्नु भने जरुरी छैन । तथापि, डाक्टरको सल्लाहअनुसार मेमोग्रामको माध्यमले स्तन क्यान्सरको परीक्षण गर्न सकिन्छ । मेमोग्रामको उपयोग गरी स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सकिन्छ । यदि स्तन क्यान्सर लागिसकेको छ भने पनि सुरुवाती अवस्था भएमा यसको उपचार सजिलै हुन्छ र लामो समयसम्म स्वस्थ जीवन जिउन सकिन्छ ।
स्तन क्यान्सरको कारण
शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रुपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । हर्मोनको गडबढ र धुम्रपान तथा मद्यपान सेवन पनि अर्को कारण रहेको छ । वंशाणुगत गुणको कारण पनि रहन्छ । परिवारमा कसैलाई यसअघि देखिएको भने परिवारको केही सदस्यलाई देखिन सक्छ । शरीरको आवश्यकता अनुसार कोशिकाहरु विभाजित हुन्छन् । तर, यदि कोशिकाहरु लगातार बढिरहे भने यसले क्यान्सरको रुप लिन सक्छ । त्यस्तै, स्तनका कोशिकाहरु अनियन्त्रित रुपमा बढ्नु स्तन क्यान्सरको मुख्य कारण हो । अनियन्त्रित रुपमा कोशिकाहरु बढेर जम्मा भएपछि गाँठोको रुप लिन्छ । यसलाई क्यान्सरको ट्युमर पनि भनिन्छ ।
कुन उमेर समूहका मानिसमा यो देखिन्छ?
२० देखि ३० वर्ष उमेर समूहका एकदमै कम मानिसमा देखिन्छ । ३० देखि ४० मा अझ बढीमा देखिन्छ र ४० देखि ५० वर्ष उमेर समूहका मानिसमा अझ बढी देखिन्छ ।
स्तन क्यान्सरबाट बच्ने उपाय
नियमित रुपमा ब्ल्याक टी अथवा ग्रीन टी पिउनाले स्तन क्यान्सर नलाग्ने सम्भावना हुन्छ । यसमा पाइने एपिग्यालो क्याटचिन नामक तत्त्वले ट्युमरका कोशिकालाई अनियन्त्रित रुपमा बढ्न दिँदैन ।
भिटामिन डीको सेवनले क्यान्सरका कोशिकाको वृद्धिलाई रोक्न सहयोग गर्छ । त्यस्तै, नियमित रुपमा दूध, दही, माछा, मासु खानु पनि फाइदाकारी हुन्छ । तर, ती खानामा चिल्लोको मात्रा कम हुनु आवश्यक छ ।
भिटामिन सीले पनि स्तन क्यान्सरबाट बचाउँछ । यसले प्रतिरक्षा प्रणालीलाई सबल बनाई क्यान्सरका कोशिका बढ्न दिँदैन ।
क्यान्सरका कोशिकालाई बढ्न नदिन जमराको रस र अनार पनि उपयोगी हुन्छ । यसले शरीरमा भएका हानिकारक तत्त्वलाई बाहिर निकाली प्रतिरक्षा प्रणालीलाई पनि सबल बनाइराख्छ ।
नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्त कोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ ।
समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम रहन्छ । हरेक महिलाले समय- समयमा मेमोग्रामको प्रयोग परीक्षण गरिरहनु पर्छ ।
उपचार खर्च कति खर्च लाग्छ ?
रोग लागेको सुरुवाती चरणमा चिकित्सक तथा अस्पतालमा पुगेमा अधिकत रुपमा ३ देखि ४ लाख रुपैयाँ लाग्ने गर्छ । सरकारले विपन्न बिरामीलाई पनि उपचार खर्च स्वरुप १ लाख रुपैयाँ दिएको छ । किमोथेरापी र रेडियोथेरापी गर्दा बढी खर्च लाग्छ । सही समयमा राम्रो चिकित्सक छनौट गरेर उपचार गराएमा बिरामीको बढी खर्च हुँदैन । उपचार गर्दा धेरैको घरबार पनि सकिने गरेको छ । चिकित्सकले रोग मात्र नभइ बिरामीको उपचार गर्ने हो । बिरामी निको हुँदा उसको सामाजिक र आर्थिक अवस्था सहज होस भन्ने चाहना छ । चिकित्सकले लागत अनुमान गरेभन्दा कम खर्च एक देखि डेढ लाखमा निको भएर बिरामी घर फर्केका उदाहरण छन् ।
कुराकानीमा आधारित
क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, विराट मेडिकल कलेज तथा टिचिङ्ग अस्पताल

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया