‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल

काठमाडौँ- कान्ति बाल अस्पतालले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराउने भएको छ ।
नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले बताए ।
यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने गत असोज पहिलो सातादेखि अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ। यस्तै सघन कक्ष (आइसीयू) र नवजात शिशुको सघन कक्ष (एनआइसीयू) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।
हाल पाँच अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर यस क्षेत्रका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दाहालका अनुसार उक्त अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ । ‘यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ,’ डा. दाहालले भने ।
नगरप्रमुख कुन्साङ लामाले तीन तहका सरकारको समन्वयका कारण मेथिनकोट अस्पतालमा सेवा विस्तार गर्दै लगिएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको उनको भनाइ छ ।
यस्तै अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।
अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण प्रयोगशाला सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको औषधि निःशुल्करूपमा उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया