कृषि क्रान्ति – विद्युतबाट

सन् १९८० को दशकको सुरुसम्म नेपालले खास गरेर मुख्य खाद्यान्न धान निर्यात गर्दथ्यो भने आज आएर प्रतिवर्ष करिब १० लाख मेट्रिक टन धान र चामलको साथै अन्य बाली पनि आयात गर्दछ । यस परिप्रेक्ष्यमा छिमेकी मित्रराष्ट्र भारतलाई हेर्यौं भने सन् १९६० को मध्य दशकसम्म खाद्यान्न आयात गर्दथ्यो भने आज संसारकै धेरै धान निर्यात गर्ने देश बन्न पुगेको छ । यसो हुनुको मुख्य कारण उब्जनी (मेट्रिक टन प्रतिहेक्टर) बढेर हो । उब्जनी बढाउन सहायकको रूपमा मल र कीटनाशक औषधि आदि चाहिन्छ भने मुख्य रूपमा पानी नै हो जसको कुनै विकल्प नै छैन ।
भारतले नदीको पानी पुग्ने ठाउँमा नहर, कुलो र सो नभएको ठाउँमा विद्युत् लाइन तानी किसानलाई पानीको समुचित व्यवस्था गरेको छ । यो लेखक सन् २००० तिर बिहार, उत्तरप्रदेश हरियाणा जाँदा त्यहाँका खेतहरूमा माकुरोको जालो जस्तो विद्युतको लाइन तानिएको देख्यो । बुझ्दा, महिनाको एउटा निश्चित तर थोरै रकम तिरेपछि जति समय पनि पम्पसेट चलाए हुने, चलाउन पनि अति सजिलो, केटाकेटीले पनि सजिलै चलाउन सक्ने । वितरण लाइन तान्न महङ्गो पर्ने हुनाले थोरै रकम मात्र कृषकहरूबाट लिइ बाँकी सबै रकम सरकारले तिरी स्टेट इलेक्ट्रिसिटी बोर्ड (यहाँको नेपाल विद्युत् प्राधिकरणजस्तै) बाट काम गराउँदथ्यो । यस प्रकारको सुविधाले गर्दा कुल विद्युत् खपतमा कृषिको अंश २० प्रतिशत भन्दा बढी पुग्यो र जस फल स्वरूप भारतमा कृषि क्रान्ति नै भयो जसलाई हरित क्रान्ति (ग्रिन रिभोल्यूसन) पनि भन्ने गरिन्छ ।
हालै भारतले आफ्नो खाद्य सुरक्षालाई दृष्टिगत गरी बासमती बाहेक अन्य चामल र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ र त्यस्तै अवस्था केही महिनाअघि गहुँमा पनि थियो । यसो हुँदा परनिर्भर हुँदै गएको नेपालमा यी सामानहरू महङ्गो हुन पुगे र जसले गर्दा विभिन्न समस्याहरू श्रृजना भएका छन् । मुख्य आहार चामलको भाउ आकासिन थाले पछि नेपालको आग्रहमा भर्खरै भारतले कोटा तोकिदिएकोछ ।
यस प्रकारको निर्यात बन्देज र महङ्गीबाट हामीले सिक्नै पर्ने कुरा के हो भने परनिर्भरता होइन अब आत्म निर्भरता तर्फ न लागि सुखै छैन ।
अब हामी नेपालको कुरा गरौं: जलशक्ति आयोगको सन् २०२१ को अध्ययन अनुसार कृषकले सिँचाइका लागि प्रयोग गर्ने ऊर्जामा विद्युतको अंश ७.४% र बाँकी मुख्यतः डिजेलको छ भने नेपाल विद्युत् प्राधिकरणको २०८० सालको तथ्याङ्क केलाउँदा कुल विद्युत् खपतमा कृषिको अंश ३.३ प्रतिशत मात्र देखिन्छ ।
५ हर्सपावरको डिजेल पम्पसेट १ घण्टा चलाउँदा हालको दर अनुसार रु. १६८ को डिजेल लाग्दछ भने सोही हर्सपावरको इलेक्ट्रिक पम्पसेट चलाउँदा रु. ८ जति पर्दछ । यसका अतिरिक्त इलेक्ट्रिक पम्पसेट सस्तो, जडान गर्न र चलाउन अति नै सजिलो, नहर/कुलो न पुग्ने ठाउँमा झनै उपयुक्त, वातावरणमैत्री र स्विच मात्र दाबे पुग्ने । यस प्रकार इलेक्ट्रिक पम्पसेट जडान गर्दा कृषकले हाल भोग्नु परिरहेको चर्को उत्पादन लागतलाई एकदमै घटाउनुको साथै खडेरीलाई पनि केही हल गर्ने छ । २०८२ सालसम्म ने.वि.प्रा.ले १०० प्रतिशत विद्युतीकरण गरि सक्ने हुनाले सस्तोमा विद्युत् प्रयोग गरि पानी न लाग्ने अग्लो ठाउँमा पनि नहर, नदी, पोखरी, ताल वा दहबाट पानी तानेर व्यापक रूपमा सिँचाइ (लिफ्ट ईरिगेसन) गर्न सकिनेछ ।
विद्युत् लाइन सडकको किनार तानिने तर कृषि जमिन भने सडकभन्दा अलि पर रहने भएकोले इलेक्ट्रिक पम्पसेटका लागि सडकदेखि कृषि जमिनसम्म वितरण लाइन तान्नु पर्ने हुन्छ । यो वितरण लाइन प्रति किलोमिटर ७/८ लाख पर्ने भएकोले किसानले साधारणत यो खर्च ब्यहोर्न नसक्ने भएकोले व्यापक रूपमा कृषि विद्युतीकरण हुन नसकेको हो । यो समस्या समाधान गर्न सरकारले वितरण लाइन लागतको ९९ प्रतिशत ब्यहोर्ने र बाँकी १ प्रतिशत अपनत्व बोध गराउन कृषकबाट ब्यहोर्न लगाउने । अनुत्पादनशील क्षेत्रमा दाताबाट अर्बौं रूपैयाँ ऋण/अनुदान लिनुसट्टा कृषि क्षेत्रका लागि सो रकम उपलब्ध गराइ एउटा कृषि विद्युतीकरणको कोष खडा गर्ने र यो विद्युतीकरणको कार्य नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा लगाउन सकिन्छ । यसमा भएको लगानीको प्रतिफल जोसुकैले टाढैबाट पनि हेर्न सक्ने, कम्तीमा पनि ५० वर्ष टिक्ने, र पछि पनि नाप्न सक्ने हुनाले न्यून दुरुपयोग हुनेछ ।
रकमको अभाव भएमा नमूना योजनाको रूपमा एक–दुईवटा पालिकालाई मात्र पनि लिन सकिन्छ । नेपाल विद्युत् प्राधिकरण आफैँ व्यापारिक संस्था भएको र साथै उसले कृषि प्रयोजनका लागि विशेष सुविधाहरू जस्तैः अरूले करिब प्रति युनिट रु. १० तिर्नु पर्ने ठाउँमा कृषि कार्यका लागि महशुल दर रु. २।२५ प्रतियुनिट र डिमान्ड चार्ज मिनाहा गरेकोले कृषि वितरण लाइन ने.वि.प्रा.ले आफ्नै खर्चमा तान्न उत्सुक होला झै लाग्दैन । नेपाल विद्युत् प्राधिकरणले ४ वर्षदेखि बन्द गरिराखेको विद्युत् खरिद सम्झौता हालै आएर १५०० मेगावाटका लागि ढोका खोलिदिएको छ । बढी खपत गर्ने उद्योग नै हो तर उद्योगको अवस्था सन्तोषजनक न देखिएकोले खास गरेर वर्षा याममा निर्यात हुन नसेको विद्युत् खेर गइरहेको छ । निर्माणाधीन जलविद्युत् गृहहरू र उल्लेखित १५०० मेगावाटको विद्युत् गृहबाट केही वर्षपछि उत्पादन हुने विद्युत् कसरी उपयोग गर्ने भन्ने कुरो अहिलेदेखि नै योजना बनाउन जरुरी छ ।
विगतको अनुभवले बढी भएको विद्युत् भारतले सजिलै किनिदेला वा बङ्गलादेशमा निर्यात गर्न भारतले सहजै स्वीकृति देला भनि ढुक्क पर्ने अवस्था देखिँदैन, भारतले जल विद्युतभन्दा सस्तो पर्ने सौर्य र वायु ऊर्जाको अत्यधिक विकास गरिरहेको र साथै नेपालमा पनि जलविद्युतमा लगानी गरिरहेको तर्फ पनि हेक्का राख्नु पर्ने देखिन्छ । यस स्थितिमा निजी उत्पादकहरूसँग विद्युत् खरिद सम्झौता भएता पनि निजहरूलाई नेपाल विद्युत् प्राधिकरणले भुक्तानी गर्ने अवस्था नै रहन्न । आम्दानी भए पो भुक्तानी गर्ने ! तसर्थ दीर्घकालीन सम्झौता नगरिकन अनुमान वा पटके सम्झौता को आधारमा होइन कि कसरी स्वदेशमा खपत गर्न सकिन्छ भन्ने दूरदृष्टिको आधारमा विद्युत् विकास गर्नु पर्दछ । यसका लागि विद्युतको खपत मध्येको ठूलो क्षेत्र माथि भनिए झै सिँचाइ र सिँचाइका लागि चाहिने मल कारखाना पनि हो । यदि विद्युत् महङ्गै भयो भने सरकारले अनुदान दिएर भए पनि विद्युतमै आधारित मल कारखाना खोल्नु पर्दछ । ग्याँसभन्दा आधै सस्तो पर्ने इन्डक्शन कुकर,यातायात आदि मा विद्युतको व्यापक प्रयोग गरि देशलाईनै विद्युतमय बनाउन सकिन्छ ।
यसो गर्दा आत्मनिर्भर हुनुको साथै निर्यातमा खर्चिने करोडौं डलर विदेशी मुद्रा बचत हुने छ । कति परालम्बी हुँदै जाने हामी ? हुँदा हुँदा अब त आलु पनि भुटानबाट आउन थाल्यो ।
अन्तमा, बुझिराख्नु पर्ने कुरो के हो भने देश धनी विद्युत् निर्यात गरेर होइन, आफैँ खपत गरेर होइन्छ किनभने यसले निर्यात मूल्यको ७/८ गुणा बढी आर्थिक फाइदा देशलाई गराउँछ । यही परिप्रेक्षमा हेर्दा धनी देशहरूको विद्युत् खपत प्रतिव्यक्ति प्रतिवर्ष ५२ हजारदेखि ७ हजार युनिट (किलोवाट आवर) छ भने नेपालको ३८० युनिट मात्र ।
(लेखक नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन् ।)

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया