प्रदेश सभाकाे बैठकमा उठाइएका प्रश्नकाे जवाफ दिन आनाकानी गर्दै बागमती सरकार
सत्तापक्ष र प्रतिपक्षकाे भाबण्डा मिलाउन संसदीय समिति बढाइने संकेत

मकवानपुर- संसदीय अभ्यास भएका मुलुकमा हरेक संसदमा विशेष समय र शून्य समयकाे व्यवस्था गरेकाे हुन्छ । उक्त समयमा देशका जल्दाेबल्दाे र आकस्मिक घटनाहरूमा सांसदहरूले सरकारकाे ध्यानाकर्षण गर्दै प्रश्न उठाउने अभ्यास रहेकाे छ । तर, कतिपय सभाका बैठकमा त्यसरी उठाइएका प्रश्नकाे सरकारले जवाफ दिन आनाकानी गरेकाे पाइन्छ ।
बागमती प्रदेश सभाकाे अधिवेशन चलेकाे समयकाे बैठकमा सभामुखले विशेष र शून्य समय निर्धारण गर्दै बैठककाे कार्यसूची बाहेककाे अवधिमा सांसदले बाेल्न समय प्रदान गर्ने गरेका छन् । विशेष समय र शून्य समयमा उठाइएका प्रश्नहरूको जवाफ दिन भने सरकारले आनाकानी गर्दै आएको छ ।
प्रदेश सभाको गत जेठ ९ गते आह्वान गरिएको उक्त अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्नुका साथै केही विधेयकहरू पारित गरेको छ । उक्त अधिवेशन बैठकमा ३८ वटा बैठकहरू संचालन भएका छन् । बागमती प्रदेशकाे दोस्रो अधिवेशनका बैठकमा सभामुखले विशेष समय २ पटक र शून्य समय ४ पटक निर्धारण गरेका थिए । उक्त समयमा उठेका प्रश्नकाे जवाफ प्रदेश सरकारकाे तर्फबाट तुरुन्तै आउनु पर्नेमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विशेष समय र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ एकमुष्ट रूपमा गत असोज १५ गते दिएका थिए ।
यसैगरी प्रदेश सभाकाे उक्त अवधिमा सङ्कल्प प्रस्ताव र ध्यानाकर्षण प्रस्ताव १/१ पटक राखिएको थियो । साथै प्रदेश सभाको बैठकमा प्रदेश सरकार र मन्त्रीहरूका बारेमा उठेका प्रश्नहरूको स्पष्टीकरण आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले दिएका थिए ।
विशेष समय र शून्य समयमा उठाएका प्रश्नहरूको जवाफ दिन प्रदेश सभाका सदस्यहरूले पटक पटक माग गरे पनि जवाफ नदिएर प्रदेश सभा अधिवेशन अन्त्य गर्ने समयमा आएर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिएका हुन् । प्रदेश सभाको बैठकमा देशका समस्या, प्रदेशका समस्या तथा आम नागरिकका समस्याका बारेमा विशेष समय र शून्य समयमा जिज्ञासा राख्दा सरकारले जवाफ नदिने हो भने विशेष समय र शून्य समय राख्नुको औचित्य नभएको प्रतिपक्ष दल एमालेले बताउँदै आएकाे छ ।
दोस्रो अधिवेशनमा प्रदेश सभाको बैठक विपक्षी दल एमाले र राप्रपाको अवरोधका कारण ६ पटक सरेको थियाे । यसैगरी तीन पटक स्थगित भएको थियो । यस्तै विषयगत समिति गठन नभएका कारण सभामा पेश भएकाे विधेयकमाथि छलफल गर्न प्रदेश सभामा विशेष समिति १ पटक गठन गरिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
सत्तापक्ष र प्रतिपक्षकाे भाबण्डा मिलाउन संसदीय समिति बढाइने संकेत
बागमती प्रदेशसभा अन्तरतका संसदीय समिति बढाइने भएकाे छ । दलहरूबीच भागबण्डा मिलाउन संसदीय समिति बढाउने तयारीमा प्रदेश सरकार लागेकाे छ । प्रदेशसभामा हाल ५ वटा संसदीय समिति रहेका छन् । हाल प्रदेशसभामा रहेका प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति, उद्योग पर्यटन तथा वातावरण समिति र अर्थ तथा विकास समिति छन् । प्रदेशसभामा रहेका दललाई भागबण्डा पुर्याउने गरी प्रदेशसभाका रहेका समितिलाई बढाइने भएकाे हाे ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल र प्रतिपक्षमा रहेका सबै दल समेत समितिको नेतृत्वमा दाबी गरेपछि संसदीय समितिको भागबण्डा मिल्न सकेको छैन । सबैले नेतृत्वमा दाबी गरेसँगै समितिको सभापति सहमति अनुसार चयन गर्न संसदीय समिति अपुग हुने छ । यसले गर्दा संसदीय समिति बढाउने चर्चाले स्थान पाएकाे छ ।
प्रदेशसभाको संसदीय समितिमा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसले २ वटामा सभापति दाबी गरेको छ । यता प्रमुख प्रतिपक्ष दल एमालेले सबै संसदीय समितिको सभापति विपक्षी दलहरूले पाउनुपर्ने माग गरेको छ भने सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले २ वटा समितिको सभापतिमा दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीले १/१ वटा समितिको सभापतिमा दाबी गर्दै आएका छन् । प्रतिपक्ष दल राप्रपाले पनि सहमतिका आधारमा एउटा समितिको नेतृत्व माग गरेको छ ।
पाँच वटा विषयगत समिति रहेको बागमती प्रदेश सभा अन्तर्गतको प्रत्येक समितिमा समिति सचिवसहित पाँच कर्मचारीको व्यवस्था रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । यसअघि विषयगत समिति गठनपछि सबैभन्दा बढी उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक बसेको छ । उद्योग पर्यटन तथा वातावरण समितिको बैठक सात पटक र त्यस अन्तर्गतको उपसमितिको बैठक एक पटक र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक ९ पटक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश मामिला समितिको बैठक ४ पटक र त्यस अन्तर्गतको उपसमितिको बैठक ३ पटक, अर्थ तथा विकास समितिको बैठक ३ पटक र त्यस अन्तर्गतको उपसमितिको बैठक हालसम्म २ पटक बसेको सचिवालयले जानकारी दिएकाे छ ।
प्रदेश सभाका संसदीय समितिका सभापतिकाे चयन दशैंपछि सुरु गरिने भएकाे छ । सबै दलसँग सहमतिको खाका निर्माण गर्ने प्रयत्न अनुसार अनौपचारिक रूपमा भने समितिको सङ्ख्या बढाउन समेत प्रस्ताव आएको प्रदेश सरकारका एक जना मन्त्रीले जानकारी दिए ।
नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले संसदीय समितिको सभापति चयन नभए संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् । उनले मिनी पार्लियामेन्टका रूपमा रहेको संसदीय समितिहरूको सभापतिको चयन प्रक्रिया नभए प्रदेशसभा बैठक चल्न नसक्ने बताए । एमालेले सभापति चयन सहमतिमा गर्नुपर्ने प्रस्ताव राख्दै आएकाे छ ।
प्रदेश सभालाई लयमा लानका लागि मिनि संसदको रुपमा रहेको संसदीय समितिलाई अझै पूर्णता दिन नसक्दा प्रतिपक्षी दल दरिलो भूमिकामा उभिन सकेको छैन । अघिल्लो कार्यकालकै शैलीमा ५ वटा समितिलाई निरन्तरता दिन लागिएसँगै समितिका सदस्यहरू चयन गरिएका छन् । तर, समितिको सभापति चयन नहुँदा सरकारमा रहेका दलको मात्रै ढलीमली भइरहेको एमाले बागमतीका सचेतक पौडेलले बताए ।
प्रक्रियागत रूपमा निर्वाचनमा जाँदा एमालेले समितिको सभापति नपाउने सम्भावना बढी छ । त्यसैले सहमति गर्नुपर्छ भनेर सरकारमा दबाब बढाइरहेको छ ’ कांग्रेसका एक जना सांसद भन्छन् ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको मागदाबीका कारण संसदीय समितिको सभापतिको चयन हुन नसकेको हो । सबै दलको स्वार्थका कारण संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढ्न नसकेको र उनीहरूले सरकारमा दबाब बढाइरहेको श्रेष्ठले बताए । दलहरूको मागदाबी अनुसार सहमतिमै संसदीय समितिको सभापति चयन प्रक्रिया गर्दा संसदीय समितिहरू बढाउनुपर्ने अवस्था रहेको उनले बताए ।
उनले भने, ‘सहमति भए ५ वटा समितिलाई दलहरूमा बाँडेर सभापति चयन गर्ने सरकारको तयारी छ । तर, दलहरूको मागदाबी उच्च हुँदा संसदीय समिति अपुग हुने देखिएको छ ।’ प्रदेशसभाको दसैँपछि सुरु हुने अधिवेशनको सुरुवातमै संसदीय समितिको सभापति चयन गर्ने सरकारको तयारी रहेको उनले बताए ।
अधिवेशन प्रदेश सभाको वर्षे अधिवेशन गत असोज २३ गते राती १२ बजे देखि अन्त्य भएकाे छ । प्रदेश सरकारकाे सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गरेका हुन् । सहमति कायम भए अव दशैंपछि सुरु हुने हिउँदे अधिवेशनमा प्रदेश सभाका संसदीय समितिले पूर्णता पाउने छ । अन्यथा एमाले प्रमुख सचेतक पौडेलले दिएकाे चेतावनी अनुसार प्रदेश सभाकाे बैठक नियमित चल्न सक्ने अवस्था देखिँदैन ।
१ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । जसमध्ये हाल कांग्रेस, माओवादी र एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया