आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

कर्मचारीले शासकका रूपमा होइन, सेवकका रूपमा काम गर्नु पर्छ : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्‍वको संरचनामा आन्तरिक राजश्‍वको अंशमा अभिवृध्दि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौँ राष्ट्रिय कर दिवस-२०७७ को अवसरमा आन्तरिक राजश्‍व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा उनले स्वेच्छिक कर सहभागिता वृध्दि गर्दै परिपालनाका माध्यमबाट समग्र राजश्‍व परिचालनमा अभिवृध्दि गर्न जरुरी रहेको बताए । 

पौडेलले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्यौट जस्ता  परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए । कर सहभागितामा न्यूनतम लागत, सेवाग्राही मैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि उनको निर्देशन थियो । 

करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा तथा पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजश्‍व विभाग र मातहतका सबै राजश्‍व कार्यालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।  

उनले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजश्व परिचालनमा सकारात्मक योगदान पुग्‍ने र यसका लागि कर दिवस सहयोगी रहने बताए । कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रूपमा होइन, नागरिकको सेवकका रूपमा काम गर्न आग्रह गरे । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायत आवागमनका अवरोधबाट अर्थतन्त्रमा आएको सङ्कुचनको बाबजुद आर्थिक वर्ष २०७६/७७ को राजश्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजीक राजश्व सङ्कलन हुने गरी कर सहभागिता जनाउने सबै करदातालाई धन्यवाद दिए । (रासस)