केदार कार्की : नेविसंघ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

विराटनगर- केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।
मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन् ।
सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसमा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी संघको एकाइ सभापति भएका थिए । उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति भएका उनी त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।
विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए । उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।
उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले । मन्त्रीका रूपमा उनले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी, दुई छोरा छन् । रासस

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

तीन घरमा हात्तीले गर्यो क्षति

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

प्रतिक्रिया