कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङ्गले सांसदहरूको सनाखत गर्ने तयारी गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएकोमा सांसदहरू निर्धारित समय अगावै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री नियुक्तिमा ढिलाई गर्न खोजे रातैभर धर्ना दिने चेतावनी दिएका केदार कार्की पक्षीय कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद समय तोकेर सनाखतको सूचना आएपछि शुक्रबार साँझ फर्किएका थिए । उनीहरू अहिले बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् ।
प्रदेश प्रमुख खापुङले सत्ता गठबन्धन समर्थित माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्य केदार कार्कीको दाबीलाई कायम राख्दै सनाखतको समय निर्धारण तोकिसकेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले कार्कीको पक्षमा सनाखत गर्ने सांसदहरुका लागि ८ बजेदेखि ११ बजेसम्मको समय छुट्याएको जनाइएको छ । त्यसपछि आङ्बोको पक्षमा सनाखत गर्ने सांसदहरुलाई समय मिलाइएको जनाइएको छ ।
आङ्बोले माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४, जनता समाजवादीको १ सहित नेपाली कांग्रेसका सवै २९ सांसदको समर्थन रहेको पत्र बुझाउँदै दाबी पेश गरेका हुन् । तर कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीको दाबेदार बनेका केदार कार्कीले भने अघिल्लो उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनमा तयार पारिएको पुरानो हस्ताक्षरलाई नै पुनः पेश गरेको भन्दै आपत्ति जनाइसकेका छन् । माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने दाबी पत्रमा कांग्रेस संसदीय दलको सदस्यका रुपमा आफ्नो र आफुलाई समर्थन गर्ने थप ७ जना सांसदको पनि नाम उल्लेख भएकोमा कार्कीले विरोध जनाएका हुन् ।
कार्की शुक्रबार साढे ४ बजे प्रदेश प्रमुखको कार्यालयमा एमालेका ३९ सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिको माग गर्दै पुगेका थिए । उनीहरूले प्रदेश प्रमुखबाट शुक्रबार साँझ नै सनाखत गर्नुपर्ने माग गर्दै प्रदेश सभा सचिवालयबाट प्रमाणित परिचय पत्र समेत बोकेर गएका थिए ।
प्रदेश प्रमुख खापुङ्गले असोज २० गते उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न हिजो (शुक्रबार) अपरान्ह ५ बजेसम्मको समय तोकेका थिए । तोकिएको समयभित्र आङ्बो र कार्कीको दाबी परेपछि ९३ सदस्यीय कोशी प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याउने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न उनले सनाखतको समय निर्धारण गरेका हुन् ।
सनाखतमा आङ्बो र कार्की मध्ये कोही एकजनाले आफ्नो पक्षमा प्रदेश सभाको न्यमूनतम् बहुमत संख्या ४७ सांसदको सनाखत पुर्याउनु पर्नेछ । बहुमत पुर्याउनेले नै मुख्यमन्त्रीको नियुक्ति पाउने छन् । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा प्रदेश सभा सदस्यहरू इन्द्र बहादुर आङ्बो र केदार कार्की दुवैले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनि हस्ताक्षरसहित दाबी पेस गरेको उल्लेख गरेको छ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया