आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने विजय शाह

काठमाडौं । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेको सूचीमा विजय शाहले सिद्धार्थ राणालाई पछि पारेका छन् । सिप्रदी ट्रेडिङ्ग प्रालिका अध्यक्ष राणा विगत केही वर्षयता व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर बुझाउने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका थिए । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ का उत्कृष्ट करदाताहरुको सूचीमा व्यक्तिगततर्फ उत्कृष्ट करदाता विजय शाह बनेका छन् । जावलाखेल ग्रुप अफ कम्पनीज् का अध्यक्ष शाह व्यक्तिगत तर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित हुने भएका हुन् । 

हरेक वर्ष मंसीर १ मा राष्ट्रिय कर दिवसको अवसरमा करदाता सम्मान गर्दै आएकोमा कोभिड–१९ का कारण यस वर्ष विभागले छुट्टै कार्यक्रम गरी करदाता सम्मान गर्ने भएको छ । सरकारले हरेक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट करदाता घोषणा एवं सम्मान गर्दै आएको छ ।

सबैभन्दा बढी कर तिर्नेमा नियमित रुपमा सूर्य नेपाल पहिलो स्थानमा रहँदै आएको छ । त्यस्तै निर्यातमूलक कम्पनीमा सबैभन्दा बढी कर तिर्नेमा डाबर नेपाल, सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड रहेका छन् । 

त्यस्तै, कृषि तथा पशुपंक्षीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर अन्नपूर्ण एग्रो इण्डस्ट्रिज प्रालिले तिरेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक, बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनी, लघुवित्त बैंकतर्फबाट छिमेक लघुवित्त, शिक्षा क्षेत्रबाट मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप, रेमिट् कम्पनीहरुमध्येबाट आईएमई रेमिट्, ट्रेडिङ्गबाट सबैभन्दा बढी आयकर तिर्नेमा अग्नि इन्कर्पोरेटेड प्रालि, पर्यटनतर्फबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, मध्यमस्तरीय करदाता सेवा कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरुबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्व कार्यालयहरुको कार्यक्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्नेमा भिएफ सर्भिसेज (मोरिसस) प्रालि रहेका छन् । 

साथै, मूल्य अभिवृद्धि करतर्फ उत्कृष्ट कर सहभागिता भएकामध्ये घोराही सिमेन्ट इण्डस्ट्रिज प्रालिले २०६५ साउन १ देखि २०७७ असार मसान्तसम्मका सबै कर विवरण बुझाउनुका साथै गत आर्थिक वर्ष २०७६–७७ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको छ ।