सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लङ्नको विकल्प रोजेँ : भुसाल

काठमाडौँ: नेकपा एमालेका नेता तथा विघटित प्रतिनिध सभा सदस्‍य घनश्‍याम भुसालले संविधान र राजनीतिका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर आफूले संसदीय मर्यादा उल्लङ्घन गरेको स्वीकार गरेका छन् । गणतन्‍त्र दिवसको अवसरमा 'मेरो स्‍पष्‍टीकरण' भन्‍दै सामाजिक सञ्‍जाल फेसबुकमा लामो प्रतिक्रिया दिँदै आफ्‍नो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा रहेको दाबी गरेका छन् । 

'घटनाहरू जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केही सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ, उनले लेखेका छन्, 'एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।'

उनको भनाइ उनकै शब्‍दमा

मेरो स्पष्टिकरणः
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ ।  त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ । 

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगत पसिना बगेको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।