क्यानाडाको भ्यानकुभरमा नेपथ्य सुन्ने घुइँचो
भ्यानकुभर - सहरको मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए । त्यतिबेलै क्यानाडा बस्दैआएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरु गरे । त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शकहरु खुसीको उत्तेजना प्रकट गरिरहेका देखिन्छन् भने कतिपयले ‘भ्यानकुभरमा आज सम्मकै सबैभन्दा भब्य नेपाली कार्यक्रम’ भनेर प्रतिक्रिया ब्यक्त गरिरहेको पाइन्छ । सबैभन्दा रोचक त झण्डै शतायु पार गरेको हलबाट बाहिरिँदै गरेका पाका उमेरको दर्शकहरु पनि भिडियोमा उत्तिकै खुसी देखिन्छन् । बिरुले यो भिडियो उनको फेसबुकमा राखेका छन् । यसरी क्यानाडाको श्रृंखलाबद्ध सांगीतिक यात्रामा रहेको लोकरक ब्याण्ड नेपथ्यको दोश्रो कन्सर्ट भ्यानकुभरमा उत्तिकै भब्य एवं सभ्य रुपमा सम्पन्न भएको छ ।
कन्सर्टको सुरुवात अघिल्लोपटकजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट भएको थियो भने त्यसलाई वैदेशिक रोजगारीमा गएकाहरुको भावमा उभ्याइएको ‘मैमरि जाउँला’ गीतले निरन्तरता दिएको थियो । चर्को स्वागतका बीच मञ्चमा नेपथ्य टोली आएपछि भने ‘कोशीको पानी यो जिन्दगानी’ ब्याण्डको पहिलो प्रस्तुति बन्नपुग्यो । गीतमा रहेको ‘आमाको कोखमा बासमात्र लिएँ, कुन देशको मरन हौ हजुर’ गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थ्यो ।
‘नेपथ्यको कन्सर्ट जीवनमा एकपटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानाडा आइ बसोबास गर्दै आएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्न पाउँदा बबाल रमाइलो लाग्यो ।’ कन्सर्टमा त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो ।
त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा अर्थशास्त्र पढाइरहेका खेम दाहाल नेपालमा द्वन्द्व सुरुभएपछि असुरक्षित महसुस गरेर २२ वर्ष पहिले सपरिवार भ्यानकुभर आइपुगेका थिए । ‘झण्डै डेढ दसकयता यो सहरमा नेपाली समुदायको चहलपहल सुरुभएता पनि यति भब्य कार्यक्रम यसअघि आयोजना भएको थिएन,’ दाहालले भने, ‘यो कन्सर्टले टिकटदर र दर्शक उपस्थितिमा मात्र होइन, भ्यानकुभरमा आयोजना हुने नेपाली कार्यक्रमको स्तरमा पनि गुणात्मक वृद्धि गरेको छ ।’
आफूलाई ‘रातो र चन्द्रसूर्जे’ अनि ‘गाउँगाउँबाट उठ’ गीतले सबैभन्दा मिठो महसुस गराएको बताउने दाहालले सम्पूर्ण कार्यक्रम नै मनोरञ्जक रहेको र आफू वरपरका सबै दर्शक सुरुदेखि अन्तिमसम्म रमाएको पनि उल्लेख गरे । 'पहिले पहिले बाल बच्चा सबैलाई देश छुटाएर यहाँ ल्याएकोमा अलि न्यास्रो अनुभव हुन्थ्यो, तर अहिले मेरा साथीभाई प्राय सबैका छोराछोरी विदेश तिरै छन् । यो देख्दा आफुले गल्ति गरेको बोध हुन छोडेको छ ।' उनले आफ्नो अनुभव साट्न भ्याए ।
कार्यक्रमस्थलमा नेपालबाट पढ्नका लागि भर्खरै क्यानाडा आइपुगेका सिर्जन भण्डारी पनि थिए । यहाँ आएर नेपालीहरुसँग संगत गर्न पाए अलिक सहज हुन्थ्यो भनेर सोचिरहेको बेला नेपथ्य कन्सर्टले साथी मात्र नभई दाजुभाइ दिदीबहिनीसमेत बनाउने मौका जुराइदिएको प्रतिक्रिया सिर्जनले दिए ।
कन्सर्ट हेर्नका निम्ति क्यानाडामा पर परसम्म बसोबास गरिरहेका दर्शकहरु आएका थिए । दर्शक भीडमै कतिपय छिमेकी मुलुक अमेरिकादेखि आउनेहरु पनि देखिन्थे । तीनैमध्ये थिए, सियाटलबाट आउने सुमन चौधरी र पोर्टल्याण्डबाट आउने प्रदिप बानियाँ । ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दैआएका प्रदिपले उतै हुर्किएकी आफ्नी ठुली छोरी पनि नेपथ्यको प्रशंसक रहेको जानकारी दिए । दुबैले नेपथ्य हेर्न आफुले तय गरेको लामो यात्रा सार्थक रहेको अनुभव सुनाए ।
कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने ?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए ।
यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रम ठिक ९ बजे अन्त्य भएको थियो ।
कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । भ्यानकुभरको दोश्रो कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्ड ८ तारिख आइतबारका दिन टोरन्टोमा प्रस्तुत हुनेभएको छ । शोका निम्ति टोली टोरन्टो पुगिसकेको छ । त्यहाँस्थित क्यानाडाकै बिख्यात सभागृह ‘म्यासी हल’मा कन्सर्ट आयोजना हुदैछ ।
यी कन्सर्टहरुमा क्यानाडामा रहेका विद्यार्थीहरुको निम्ति विशेष छुटको ब्यवस्था गरिएको छ । अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट www.nepathya.com.np बाटै पनि उपलब्ध गराउने बन्दोबस्त मिलाएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया