पूर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरा रिहा

जनकपुरधाम- जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनका पति र ससुरा रिहा भएका छन् ।
उच्च अदालत जनकपुरधामको आदेशमा आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन साह सुडी साधारण तारेखमा रिहा भएका हुन् । मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले मोतीबाबु र मदन मोहनलाई साधारण तारेखमा छोड्ने आदेश दिएको उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिएका छन् ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन साह सुडीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरूविरुद्ध असार १ गते जिल्ला सरकारी वकिल कार्यालय धनुषाले जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।
थुनछेक बहसपछि असार ५ गते जिल्ला अदालतले आरतीका पति र ससुरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । तर, उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएकाे कारण देखाएर पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरेकाे छ ।
आदेशमा भनिएको छ, 'पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीहरू मोतीबाबु साह र मदन मोहन साह भन्ने मदन मोहन व्याहुत साह सुडीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम मुद्दा पूर्पक्षका लागि तारिखमा राखी मुद्दाको कारबाही किनारा गर्नुहोला ।’
आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । दाइजोको निहुँमा पति, ससुरा र सासूले आरतीलाई यातना दिई हत्या गरेको परिवारले दाबी गर्दै आएकाे छ । गत ७ जेठमा आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएकाे थियाे । माइती पक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएका थिए ।
छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भाइ, मामा लगायतले करिब तीन महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका थिए । आफूहरूमाथि प्रहरीले नै कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै उनीहरूले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, तत्कालीन डीएसपी वेदप्रसाद गौतमसहितलाई कारबाहीको मागसमेत गर्दै आएका हुन् ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया