कोभिड जित्दैछ कर्णाली

सुर्खेत: पछिल्ला दिनहरूमा कर्णालीमा कोभिड–१९ संक्रमणको दर तुलनात्मक रूपमा केही कम भएको देखिएको छ । निषेधाज्ञासँगै संक्रमण नियन्त्रणउन्मुख भएको चिकित्सकहरूले बताएका छन् । प्रदेशमा दोस्रो लहरको संक्रमण फैलिन थालेपछि बैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । बैशाख मसान्तसम्म संक्रमणदर निकै उच्च देखिए पनि अहिले विस्तारै घट्दै गएको देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ महिनासँगै संक्रमित र मृत्युदर पनि घटेको हो ।
जेठ महिनामा कोरोना संक्रमणदर केही मात्रामा घटे पनि जोखिम भने अझै उस्तै छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ १ गतेदेखि हालसम्म ६ हजार बढीमा संक्रमण पुष्टि भएको छ । जेठ १ गते ६ सय १८ जनामा संक्रमण देखिएकोमा ८ गते चार सय ७९ मा पुग्यो । त्यसैगरी १२ गते दुई सय ९८ मा संक्रमण पुष्टि भएको थियो भने १४ गते शुक्रबार दुई सय ५२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी जेठको पहिलो सातासम्म दैनिक ८ देखि १० जनाको मृत्यु हुने गरेकोमा अहिले दिनमा दुईदेखि तीन जनासम्मको मात्र मृत्यु हुने गरेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।निर्देशनालयका अनुसार जेठ तीन गते एकैदिन १३ जनाको मृत्यु भएको थियो भने सात गते ६ जनाको मृत्यु भएको थियो । जेठ १० गते ४ जनाको मृत्यु भएको थियो भने १४ गते एक जनाको मृत्यु भएको छ ।
प्रदेश अस्पतालस्थित कोरोना अस्पतालको आइसोलसनमा कार्यरत स्वास्थ्यकर्मी सपना पहाडीले आजभोलि संक्रमितको उपचार गर्न सहज भएको बताइन् । संक्रमितको संख्या घट्दो क्रममा गएपछि उपचार गर्न सहज भएको उनले बताइन् । ‘अहिले संक्रमितको संख्या घट्दै गएपछि अक्सिजनको पनि अभाव देखिएको छैन’ उनी भन्छिन्, ‘अक्सिजन अभाव नभएपछि मृत्युदर पनि कम भएको छ ।’
त्यसैगरी अस्पतालमा कार्यरत डाक्टर नवराज केसीका अनुसार बैशाख महिनाको तुलनामा जेठमा संक्रमितको संख्या घट्दै गइरहेको छ । अस्पतालमा संक्रमितको चाप घटेसँगै स्वास्थ्यकर्मीहरूलाई उपचार गर्न पनि सहज भएको केसीले बताए । हिजोआज अस्पतालमा अक्सिजनको पनि अभाव नदेखिएको उनले बताए ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा उच्च जोखिममा रहेको जिल्ला सुर्खेत हो । यहाँ पनि संक्रमणको दर विस्तारै घट्दोक्रममा देखिएको जनस्वाथ्यकर्मीहरूले बताएका छन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले वीरेन्द्रनगर लगायतका सहरी क्षेत्रमा संक्रमण घट्ने संकेत देखिए पनि जोखिम भने उस्तै रहेको बताए । निषेधाज्ञाको पूर्णपालना भएका क्षेत्रहरूमा संक्रमण घटेको पाइएको उनले बताए । यसरी स्वास्थ्य निर्देशनालयको तथ्यांकलाई तुलना गर्दा कर्णालीले कोभिडलाई जित्ने क्रममा देखिएको छ ।

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

कर्णाली राजमार्ग चार दिन बन्द हुने
१० महिनामा १३ हजार पर्यटक रारा पुगे

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रतिक्रिया