यस कारण कर्णालीमा ओलीको चाहनाविपरीत नेतृत्व
को हुन् गुलाबजङ्ग ?

सुर्खेत- गत बुधबार नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयन सहमतिमा टुंग्याउन अपिल गरे । कार्यक्रम उद्घाटन सकेर ओली काठमाडौं फर्किएपछि प्रदेशको माहोल ओलीको निर्देशनविपरीत बन्यो । अन्ततः निर्वाचनको माहोल बन्यो । उक्त निर्वाचनमा फराकिलो मतान्तरसहित गुलाबजङ्ग शाह नेकपा एमाले कर्णालीको प्रदेश अध्यक्ष निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाउँदा ३६९ मत ल्याएर शाहले अध्यक्ष जितेका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश रोकायाले भने चार मत मात्रै पाएका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको चाहना विपरीत एमाले कर्णाली प्रदेशको अध्यक्षमा स्थायी कमिटी सदस्य यामलाल कँडेल गुटका गुलाबजङ्ग शाह निर्वाचित भए । शाह महासचिव शंकर पोखरेलका विश्वास पात्रका रूपमा चिनिन्छन् । सोमबार सम्पन्न मतगणनाअनुसार शाह आफ्ना प्रतिद्वन्द्वी मीनबहादुर शाहीलाई १६२ मतान्तरले पराजित गर्दै प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनमा जम्मा ६१६ मतमध्ये ६०९ मत खसेको थियो ।
कर्णालीमा गुलाबजङ्ग र मीनबहादुरले आआफ्नै प्यानल बनाएर चुनाव लडेका थिए । गुलाबजङ्गलाई स्थायी कमिटी सदस्य रहेका कर्णालीकै नेता यामलाल कँडेलले साथ दिएका थिए भने मीनबहादुरलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीकै साथ थियो । तर, पार्टी अध्यक्षकै उम्मेदवार बनाएर प्रतिस्पर्धामा उत्रिएका मीनबहादुरको प्यानलबाट कुनै पनि पदाधिकारीले जित्न सकेनन् ।
प्रदेश नेतृत्वको दाबी गर्दै उम्मेदवारी दिएका प्रेमबहादुर शाही र प्रदेशसभाका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी नै फिर्ता लिए । राजबहादुरले उम्मेदवारी फिर्ता लिँदा लेखेको वक्तव्यले पनि पार्टी केन्द्रको हस्तक्षेप बुझ्न सकिन्छ ।
कर्णालीमा यामलाल कँडेल बलियो नेता हुँदाहुँदै केपी ओलीले कँडेललाई जहिल्यै असहयोग गर्दै आएका थिए । कँडेलले केपी ओलीकै चाहना विपरीत कर्णालीमा शाहलाई जिताएर आफ्नो वर्चश्व कायमै रहेको जवाफ पार्टी केन्द्रलाई दिएका छन् ।
नेतृत्वका लागि सल्यानका शाह र कालिकोटका शाहीबीचको प्रतिस्पर्धालाई नेताहरूले प्रतिष्ठाको विषय बनाएका थिए । अध्यक्ष ओलीले शाहीलाई नै अगाडि ल्याउने प्रयास गरेता पनि ओलीको प्रयास विफल भएको एमाले नेताहरू बताउँछन् । कर्णालीको अधिवेशनबाट यामलाल कँडेलले प्रतिष्ठाको लडाइँ जितेका छन् ।
ओलीकै निर्देशनविपरीत नतिजा आउनुको पछाडि भने गुलाबजङ्गको व्यक्तित्वसँगै कँडेलको भूमिका महत्वपूर्ण रूपमा लिइएको छ । कँडेलले यो प्रतिस्पर्धालाई प्रतिष्ठाकै विषय बनाएर प्यानल निर्माण गरेका थिए । प्रदेश अध्यक्षकै दाबेदार ध्रुव शाहीलाई सचिवमा मनाएर बलियो प्यानल बनाउनुको नतिजा अन्ततः ठूलो मतान्तरको जित निस्कियो । पार्टी केन्द्रलाई चुनौती दिने मनसायमा कँडेल पुग्नुमा भने ओलीले लगातार बेवास्ता गरेको बुझाइले काम गरेको देखिन्छ ।
कर्णाली प्रदेशसभामा पटक पटक नेतृत्व गर्ने अवसर आउँदा पनि केन्द्रकै निर्णयले कँडेल मुख्यमन्त्रीबाट पछि हट्दा ओलीप्रति कँडेलले मन दुखाएका थिए । पहिलो कार्यकालमा कर्णाली प्रदेशसभाको ४० सिटमध्ये २० सिट एमालेको हुँदा पनि एमालेले नेतृत्व गर्न पाएन । मुख्यमन्त्री हुने आकांक्षा राखेका कँडेल यसपटकको कार्यकालमा पनि केन्द्रको निर्णयले मुख्यमन्त्री पद पाउन सकेनन् ।
को हुन् गुलाबजङ्ग ?
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि.सं.२०२२ सालमा जन्मिएका गुलाबजङ्ग शाहको राजनीतिक यात्रा आफैँमा संघर्षमय छ । गुलाबजङ्ग शाह कर्णालीको एमालेभित्र प्रभावशाली नेताका रुपमा चिनिन्छन् । ०४० सालमा अनेरास्ववियु पाँचौँमा आबद्ध भएर राजनीतिक यात्रा थालनी गरेका थिए, उनले ।
शाहले ०४७ सालमा नेपाल कर्मचारी संगठन बाँकेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । ०५० सालमा सल्यान–काठमाडौँ सम्पर्क मञ्चमा आबद्ध भएका थिए ।
०५३ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य बने । बिस्तारै राजनीतिमा फराकिलो छवि बनाउँदै अघि बढेका उनी नेकपा माले सल्यानको तेश्रो जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित हुँदै ०५६ सालमा सल्यान–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए ।
०६६ सालमा सल्यानबाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि सदस्यमा निर्वाचित भएका उनी ०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्यका लागि सल्यान क्षेत्र– १ बाट उम्मेदवार बनेका थिए ।
एमालेको नवौँ महाधिवेशनबाट २०७१ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी संगठन निर्माण र पार्टीको काममा सक्रियताका साथ अग्रसर भए । शाह त्यतिखेर एमाले सल्यानका पार्टी इन्चार्ज समेत थिए । ०७४ मा उनी कर्णाली प्रदेशसभाको निर्वाचनमा सल्यान (क) बाट निर्वाचित भए ।
नेकपा हुँदा पनि प्रमुख सचेतक बनेका शाह नेकपा विभाजनपछि भने एमाले संसदीय दलको सचेतकको भूमिका थिए । ०७८ मा नेकपा एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले पार्टीको पोलिटब्युरो सदस्यको महत्वपूर्ण जिम्मेवारी पाए । पार्टीका कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहिसकेका शाह ०७९ को प्रदेशसभा निर्वाचनमा पराजित भए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया