एमाले कोशीको अध्यक्षका लागि ढकाल र खतिवडाले गरे मनोनयन दर्ता

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष पदका लागि विनोद ढकाल र घनश्याम खतिवडाले मनोनयन दर्ता गरेका छन् ।
सर्वसम्मत भएको खण्डमा दोहोर्याएर अध्यक्ष बन्ने सोच बनाएका वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपानेले भने मनोनयन दर्ता नगर्ने बताएका छन् । अध्यक्षका आकांक्षी रहेका वर्तमान कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ पनि अध्यक्ष बन्ने दौडबाट पछि हटेको जनाइएको छ ।
अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका ढकाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई छाडिदिन आग्रह गरेको जनाइएको छ । तर, ढकालले आफू अघि बढिसकेको सन्देश ओली निकटका नेताहरूलाई दिएका हुन् ।
ओलीको निर्देशन अनुसार स्थायी कमिटीका केही सदस्यले भने घनश्यामलाई नै अध्यक्ष बनाउने केन्द्रीय लाइन रहेको भन्दै तल्लो कमिटीका नेताहरूलाई ब्रिफिङ गरेका छन् । ढकालले बन्द सत्रको हलमै मोरङ जिल्लाको समूहगत प्रस्तुतिका क्रममा अध्यक्षको नाम जोडेर कसैलाई पनि काखापाखा नगर्न चेतावनी दिएका छन् ।
एमाले मोरङको दुई पटक अध्यक्ष भइसकेका ढकालले अध्यक्ष केपी शर्मा ओलीको कतिपय राजनीतिक निर्णय र कामप्रति असहमति जनाउँदै आएका थिए । त्यही भएर ओलीले उनलाई रोक्दै खतिवडालाई सर्वसम्मत बनाउने प्रयास गरेको जनाइएको छ ।
ढकाल निकट नेताहरूका अनुसार ओलीले खतिवडालाई सर्वसम्मत अध्यक्ष चयनका लागि ढकाललाई पोलिटब्युरो सदस्य बनाउने आश्वासन समेत दिइसकेको जनाइएको छ । तर, ढकालले नमानेको जनाइएको छ ।
अध्यक्षमा उम्मेदवारी दर्ता गरेका खतिवडाले पनि आफू अघि बढिसकेको जनाएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका खतिवडा एमालेका पुराना र इमानदार नेता हुन् ।
अध्यक्ष पदका लागि ढकाल र खतिवडाबाहेक अरुको उम्मेदवारी नपर्ने दाबी एमाले कार्यकर्ताहरूको छ । अहिले विराटनगरको होटल मनास्लु इनमा जिल्लागत रूपमा आकांक्षीहरूले मनोनयन दर्ता गरिरहेका छन् ।
यो अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना निर्वाचित गर्नेछ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया