शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

नक्कली प्रमाणपत्र पेस गरेका कैलालीका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– नक्कली प्रमाणपत्र पेस गरेर नियुक्ति लिएका कैलालीको दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षक महेश शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।

शुक्रबार आयोगले शिक्षक शाहले इण्टरमिडियटको सर्टिफिकेट नक्कली प्रमाणपत्र पेस गरी अध्यापन गरेको भन्दै मुद्दा दायर गरेको हो । 

शाहले झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने काम गरेको आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ । 

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको प्रमाणपत्र पेस गरेका थिए ।

तर, आयोगले  उक्त शैक्षिक योग्यताको प्रमाण–पत्र झुट्टा भएको दाबी गरेको छ । शिक्षक शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय गर्न आयोगले माग गरेको छ ।