अस्पताल छाडेर सडकमा डाक्टर (फोटोसहित)
पोखरा - पोखराको मनिपाल अस्पताल भएको घटना यति बेला सडक तातिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको सोमबार उपचारकै क्रममा मृत्यु भएपछि विवाद सुरु भएको थियो ।
अस्पतालबाट तनाव सडकमा छरिएको छ । बुधबार चिकित्सक र मृतकका आफन्तले फरक फरक स्थानमा सडक तताए । चिकित्सकको समूहले जिल्ला प्रशासन कार्यालय, कास्कीको अगाडि धर्ना दिँदै नाराबाजी गरे । मृतकका आफन्तले महेन्द्रपुलमा नाराबाजी गर्दै १ देखि ६ बजेसम्म पोखरा बन्दको प्रयास गरे ।
प्रशासन अगाडि अस्पतालको सेवा छाडेर मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका इन्टर्न र आवासीय डाक्टरले आन्दोलन गरेका थिए । उनीहरुले डाक्टर कुट्ने व्यक्ति र डाक्टर कुटेको अभिव्यक्ति दिने प्रहरीलाई कारबाही गर्नुपर्ने र आफूहरुको पेसागत सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका थिए ।
आन्दोलन गर्न पुगेका डा. कमल भण्डारीले आफूहरु कुनै पनि संस्थाको पछि नलागी स्वतस्फूर्त पेसागत सुरक्षाका लागि पुगेको बताए । सुरक्षाका कारण आफूहरु काम गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । ‘मिडियाबाजी गर्ने पोलिटिकल्ली स्टन्ड गर्ने हाम्रो कुनै पनि मनसाय होइन,’ उनले भने, ‘अस्पताल बन्द गर्ने हाम्रो मनसाय छैन । सुरक्षाविहीन तरिकाले हामी अस्पतालमा गएर सेवा दिन सक्दैनौं ।’
नेपाल चिकित्सक संघ, गण्डकी प्रदेशले सोमबार नै विज्ञप्ति जारी गरेर प्रदेशभरको ओपिडी सेवा दिन असमर्थ रहेको जनाएको थियो । संघका गण्डकी प्रदेशका सचिव डा.सुशील तिमिल्सिनाले स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने, हातपात गर्ने व्यक्तिलाई कारबाहीको माग गरिएको बताए । आगामी दिनमा हातपातको अवस्था सिर्जना हुने अवस्था नआउने वातावरण बनाइनुपर्नेमा उनको जोड थियो ।
‘स्वास्थ्य क्षेत्र एकदमै संवेदनशील क्षेत्र हो । यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको काम कसैले नबुझेर भिडतन्त्रले काम गर्न थाल्यो । आफूलाई जे गर्न मन लाग्यो त्यही गर्न थाले,’ डा. तिमिल्सिनाले भने, ‘यही विसंगतिविरुद्धमा हामी छौं । अर्को कुरा भनेको हातपात गर्नेलाई कारबाही हुनप¥यो भन्ने हो । यस्तो प्रवृत्ति फेरि दोहोरिन भएन । यदि कसैलाई स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीप्रति विश्वास लागेन भने उजुरी गर्ने निकाय छ त्यहाँ उजुरी गर्नुप¥यो ।’
यता, पीडित पक्षले भने महेन्द्रपुलमा विरोध कार्यक्रम गरी पोखरा बन्द गराउँदै हिँडेका थिए । दुरा समाज कास्कीले आफ्नो आन्दोलन जारी राखेको छ । उनीहरुले घटनामा संलग्न अनील शाह आफैंले प्रष्टरुपमा इन्टर्न गर्दै गरेको डाक्टरले भेन्टिलेटरको बिरामी चेकजाँच गर्न नपाउने बताएका छन् । ‘इन्टर्नसिप डाक्टरले भेन्टिलेटरमा अन्तिम अवस्थाको बिरामीलाई आफ्नो नेतृत्वमा उपचार गर्न पाउँछ कि नाई भनेर सोध्यौं,’ विरोधमा ऐक्यबद्धता जनाउन पुगेका पशुपति भट्टराईले भने, ‘हामीले चिनेजानेको डाक्टरसँग सोध्दा ‘हामीले भन्न त मिलेन डाक्टरकै विरुद्धमा गएजस्तो हुन्छ तर, इन्टर्नसिप गरेको डाक्टरले भेन्टिलेटरको बिरामीलाई हेर्न मेडिकल पोर्टफोलियोले दिँदैन भनेको छ’ ।
मृतककी छोरी तिला दुरा भने मृत्यु हुनुको कारण खोजिरहेकी छिन् । इमर्जेन्सीमा भर्ना गरिएको सुकमायाको अर्काे दिन मृत्यु भएपछि डाक्टरको चरम लापरबाहीकै कारण मृत्यु भएको दुरा परिवारको दाबी छ । तिलाले भनिन्, ‘मेरो आमालाई इमर्जेन्जीमा लगेदेखि सिपिआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन) दिदाँसम्मको प्रक्रियागत प्रमाण दिनुपर्छ । हिरासतमा रहेको विनय दाइलाई रिहा गर्नुपर्छ । उचारमा भएको डाक्टर, नर्स सबैले स्पष्टीकरण दिनुपर्छ र अस्पताल प्रशासनको गल्ती छ भने माफी माग्नुपर्छ ।’ उनले आफ्नो आमालाई इन्टर्न गर्ने डाक्टरले सिपिआर दिएको भन्दै आपत्ति जनाइन् । उनको गुनासो थियो, ‘इन्टर्न गरेको डाक्टरले सिपिआर दिन मिल्छ?, ‘त्यस्तो क्रिटिकल सिच्वेसन भएको भए इन्टर्न गरेको डाक्टरले सिपिआर दिन कसले लगायो हामीलाई जवाफ चाहिन्छ ।’ उनले आफ्नो आमाको मृत्युपछाडिको सम्पूर्ण प्रमाण पेस गरेको खण्डमा मात्र आन्दोलनलाई रोक्ने बताइन् ।
अस्पताल सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ भने मनिपालमा कमान्ड सम्हालेका वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी वेद जोशी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । अस्पतालमा कार्यरत चिकित्सक र मृतकका आफन्तबीच भएको तनावको अवस्थामा श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिएका थिए । अस्पतालमा विवाद उत्पन्न भएपछि सुरक्षा खटिएका प्रहरी निरीक्षक श्रेष्ठले नै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोेशित भिडमा अभिव्यक्ति दिएका थिए ।
प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक बुद्धिराज गुरुङले श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । ‘मनिपाल प्रकरणमै कमान्ड सम्हालेका जोशीलाई हेडक्वाटर तानिएको हो भने श्रेष्ठलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइएको हो,’ गुरुङले भने ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया