शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

खोपमा प्रधानमन्त्रीको सुस्‍तता, राष्ट्रपतिको सक्रियता

दोस्रो डोज ‘कोभिसिल्ड’ खोपका निम्ति सूर्यनाथ उपाध्याय बिहीबार दिनभर काठमाडौँ उपत्यकाका अस्पताल चक्कर लगाए, खोप नपाएपछि अन्ततः निराश हुँदै घर फर्के । ७८ वर्षीय उपाध्याय दोस्रो खोप नपाएपछि चिन्तामग्‍न छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय जसरी नै जेष्ठ नागरिकहरू दोस्रो खोपको अत्यासलाग्दो पर्खाइमा छन् ।

दोस्रो खोपको जोहो नगरीकन पहिलो खोप मात्र लगाएका जेष्ठ नागरिकका पीडा कसले सुन्‍ने ? सरकारले दोस्रो खोप उपलब्ध गराउन सक्ने क्षमता राख्दैनथ्यो भने पहिलो खोप किन दियो ? पहिलो खोप दिएपछि दोस्रो खोप उपलब्ध गराउन सक्दैन भने राज्यले जेष्ठ नागरिकमाथि गरेको यो मानव अधिकारको गम्भीर उल्लंघन हो कि होइन ? पहिलो ‘कोभिशिल्ड’ लगाएपछि त चिनियाँ खोप लिन मिलेन । त्यसकारण सरकारले जेष्ठ नागरिकलाई चिन्तामा पुर्‍याएको छ । 

तर सरकार, सत्ता-उन्मादी खेलमा मात्रै रमेको छ । पहिलो खोप लगाएकालाई दोस्रो खोप उपलब्ध गराउन नसक्नुको जिम्मेवार को हुन्छ ? राज्य संयन्त्रबाट खोपमा विवेकहीन क्रियाकलाप प्रदर्शन गरिरहेको छ । शासकीय वृत्तका पात्र र बिचौलियाहरूले ‘कोभिसिल्ड’मा चर्को र्‍याल काढेपछि समयमै भित्रिन नसकेको हो । जुन आम तहमा आइसकेको छ ।

एकातिर सरकारी संयन्त्र कमिसनको चास्नीभित्र पस्यो भने अर्कातिर जेष्ठ नागरिक कहिले सरकारले खोप ल्याउला र लगाउँला भनी पीडादायी तवरले कुर्दैछन् । पहिलो डोज र दोस्रो डोजको दुरी बढ्दै जाँदा खोपको प्रभावकारिता के हुन्छ भन्‍ने पनि अन्यौलपूर्ण स्थिति छ नै । कहिले दक्षिण र कहिले उत्तर गरी सरकारमा बस्ने कि पहलकदमी पनि लिने ?

हुन त, चीनले बिहीबार राष्ट्रप्रमुख तहबाट टेलिफोन कल गरी नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने भएपछि सरकारले राहत महसूस गरेको छ । यो चीनले छिमेकीलाई लगाएको गुन हो । यो खोपबाट थप पाँच लाख नेपालीले आफूलाई सुरक्षित भएको महसूस गर्न पाउनेछन् । 

त्यो नेपाल सरकारको पहलमा भन्दा पनि उतैबाट नेपालको अवस्था देखेपछि छिमेकलाई दिएका हुन् । नेपालको तदारुकता हेर्दा त पहिलो पटक तयार राखेको खोप तीन महिनापछि नेपालले ल्याएको हो । चीनले यसअघि पनि ८ लाख डोज खोप दिएको थियो । 

चीनसँग राष्ट्रपति स्तरमा कुराकानी हुनु अर्थपूर्ण छ, तर भारतसँग प्रधानमन्त्रीको तहमा कुरा हुन नसकेपछि राष्ट्रपतिलाई पत्राचार गर्नु पक्कै स्वाभाविक देखिँदैन ।

चीनसँगको सम्बन्धमा सरकारले निर्वाह गरेको भूमिकाप्रति चिनियाँहरू ढुक्क हुन नसकेपछि सम्बन्ध अलि चिसिएको अवस्था छ । यद्यपि चीनबाट थप खोप पनि आउन सक्ने सम्भावना छ । तर, चीनले स्थानीय बिचौलिया नराखी सिधा खरिद-बिक्रीको सवाल उठाएको छ । नेपालले स्थानीय कमिसन एजेन्ट राख्दै खोपको केही मूल्य बढाएर ल्याउन खोजेको र यसमा स्वार्थी समूहको सक्रियता बढेको देखिन्छ ।

हामी महामारीमा छौँ र अनि सबै संकटमा पनि । यस्तो अवस्थामा जसरी भए पनि नेपालीलाई खोप आवश्यक छ । चीनले कुन मुलुकमा कुन सरकार छ भन्‍ने कुरामा ध्यान दिने भन्दा पनि कसलाई सहयोग गर्ने भन्‍ने हेर्छ । चिनियाँ राष्ट्रपति सीले बुधबार तीन मुलुकसँग संवाद गर्ने क्रममा नेपाल पनि परेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संकटका बेला खोप कूटनीति थाल्नुलाई सकारात्मक रूपमा लिइएको छ । यद्यपि यो उनको कार्यक्षेत्रको विषय हो कि होइन भन्‍नेमा पनि चर्चा भइरहेको छ । प्रधानमन्त्री आफैँले भारतसँग ‘डिल’समेत गर्न नसकेपछि राष्ट्रपतिमार्फत पत्र पठाएका छन् । खोप उपलब्ध गराउन पठाएको पत्रमा भारतीय सत्तारुढ दलले असहमति जनाएको छ । जसका कारण नेपाल-भारत सम्बन्ध पनि प्रभावित हुन सक्ने देखिएको छ ।

चीनले उपलब्ध गराउँछु भनेको एक दिनअघि राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पनि खोप उपलब्ध गराउन पहल गरेकी थिइन् । यसलाई कूटनीतिक ‘ब्लन्डर’ भनिन्छ । किनकि भारतीय आलंकारिक राष्ट्रपतिलाई नेपालको आलंकारिक राष्ट्रपतिले पत्र लेख्नु भनेको मुलुकमा कार्यकारी तहसँग छलफल गर्ने नेतृत्व छैन भन्‍ने सन्देश दिनु हो ।

यतिबेला महामारीविरुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजेको भनिए पनि त्यसमा ढंग पुर्‍याएको देखिँदैन । पहिले मेडिकल सामग्री माग्दा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले फरक-फरक पत्र पठाएर भारतलाई आग्रह गरेका थिए । यसपटक प्रधानमन्त्रीले आफ्नो हैसियत अदालतमा परीक्षण भइरहेको भनी राष्ट्र-प्रमुखको तहबाट पठाएका हुन् या नजानेर, यो कूटनीतिक भूल हो । चीनसँग राष्ट्रपति स्तरमा कुराकानी हुनु अर्थपूर्ण छ, तर भारतसँग प्रधानमन्त्रीको तहमा कुरा हुन नसकेपछि राष्ट्रपतिलाई पत्राचार गर्नु पक्कै स्वाभाविक देखिँदैन ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीले नै नेतृत्व लिएर काम गर्नुपर्ने अवस्थामा किन राष्ट्रपतिमार्फत काम अघि बढेको हो भन्‍ने विश्लेषण आवश्यक छ । कार्यकारी भूमिकामा नरहेकी संवैधानिक राष्ट्र-प्रमुख भण्डारीबाट यसरी खोप कूटनीति छताछुल्ल हुनुलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । किनकि राष्ट्रपतिले पहलकदमी गर्नु भनेको कार्यकारीको अस्तित्व सकिनु हो ।