नेपाल पठाउने १० लाख चिनियाँ खोप तयार, शनिबारसम्म आइपुग्ने

बेइजिङ : चीनले नेपाललाई उपलब्ध गराउने खोप नेपाल पठाउन तयारी हालतमा राखेको छ । नेपालबाट कुनै समय विमान पठाएर त्यो खोप लैजान सक्ने जानकारी चिनियाँ पक्षले दिएको छ । राष्ट्रपति सी चिनफिङले बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा नेपाललाई अनुदान स्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
जुन नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दुई राष्ट्रपतिबीचको संवादलगत्तै आफ्नो ट्विटरमार्फत् जानकारी गराएकी थिइन् । सोहीअनुरूप चीन सरकारले नेपाललाई दिने भनिएको १० लाख डोज खोप तयार रहेको बेइजिङस्थित नेपाली दूतावासलाई जानकारी गराएको छ ।
अग्रिम भुक्तानी गरेर पनि भारतले खोप उपलब्ध नगराएको अवस्थामा चीनले भने प्रतिबद्धता जाहेर गरेको दुई दिनमै खोप तयार पारेको हो । छिमेकी मुलुक चीनले विभिन्न देशबाट खोपको माँग हुँदाहुँदै पनि नेपाललाई प्राथमिकता राखी तुरून्तै दश लाख डाेज खोप अनुदान स्वरूप उपलब्ध गराउन लागेको हो । चीनका लागि नेपालका राजदूत महेन्द्र बहादर पाण्डेले बिहीबार नै चीन सरकारले दूतावासलाई खोप तयार रहेको जानकारी गराएको बताए ।
८ लाख डोज खोप बेइजिङमा तयार रहेको र बाँकी दुई लाख डोज खोप तिब्बत सरकारले नै नेपालसम्म पठाउने व्यवस्था गर्ने जनाएको उनले जानकारी दिए । साथै बेइजिङमा खोप लिनका लागि बन्दोबस्त गर्नु भनिएको पनि दुतावासले जनाएको छ ।
'यो जानकारी पाएलगत्तै आज (बिहिबार) दिउँसै नेपालमा पत्राचार गरिसकेको छु, मेरो ध्यान भनेको जतिसक्दो चाँडो खोप नेपाल पुर्याउने हो । यहाँ बेइजिङमा ८ लाख खोप तयार छ,' राजदूत पाण्डे भने । सूचना पाएलगत्तै नेपाली दूतावासले नेपालको सम्बन्धित निकायलाई छिटोभन्दा छिटो विमान पठाउन आग्रहसहित पत्राचार गरिसकेको छ ।
बेइजिङस्थित नेपाली दूतावास निरन्तर रूपमा खोप तथा अन्य स्वास्थ्य सामग्री पठाउन सक्रिय रूपमा लागिपरेको पनि उनले बताए । स्रोतका अनुसार, भोलि शुक्रबार नै नेपाल वायुसेवा निगमको विमान उक्त खोप लिन बेइजिङ उड्ने छ । शनिबार बिहानसम्म नेपालमा १० लाख डोज खोप पुग्ने अवस्था बनेको दूतावासका अधिकारीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार भोलि राति जहाजले चीन उडान भर्ने बताए । 'भोलि राति ११:३० बजे जहाज चीन जाँदैछ । जहाज स्वास्थ्य सामग्री लिन जान लागेको हो । जहाज कुम्निङ जान लागेको हो' उनले भने ।
यसबाहेक, चीनले नेपाललाई ८ लाख खोप अनुदानमा दिइसकेको छ । सो खोप चीनले दिएको करिब तीन महिनापछि मात्र नेपाल सरकारले नेपालको राष्ट्रिय ध्वजाबाहक विमान पठाइ नेपाल पुर्याइएको थियो, जुन खोप हाल नेपालमा दोस्रो चरणमा लगाउने क्रम जारी छ ।
कोरोना महामारीको अस्त्र भनेकै खोप, खोप र खोप भइसकेको अवस्थामा यसको माग विश्वमा अत्याधिक छ । यसबाहेक पनि छिमेकी मुलुक चीनले विभिन्न देशबाट माँग हुँदाहुँदै पनि नेपाललाई प्राथमिकता राखी हाल पनि दश लाख खोप अनुदानस्वरूप उपलब्ध गराएको अवस्थामा नेपाल सरकारले छिटोभन्दा छिटो यो खोप लैजानु अत्यावश्यक छ । नेपालको हालको अवस्थालाई मत्थर गर्ने मुख्य साधन खोप नै हो ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया