मधेशमा संविधान दिवस : कतै खुसियाली, कतै विरोध प्रदर्शन

जनकपुरधाम- संविधान दिवसका दिन आज बिहीबार मधेश प्रदेशमा सामान्य उत्साह देखिएकाे छ भने सत्तारूढ दलसहित केही दलले कालो झण्डा देखाइ संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् ।
सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको थियो । सो अनुरूप पहिलो दिन असोज ३ गते सत्तारूढ दल कांग्रेस, माओवादी र नेकपा एसले दीप प्रज्वलनसहितका सामान्य कार्यक्रम गरी मनाएका छन् भने प्रतिपक्षी दल नेकपा एमालेले सरसफाइ तथा झन्डोत्तोलन गरेकाे छ ।
यी बाहेक सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विरोध जुलुस प्रदर्शन गरी संविधान दिवसलाई कालो दिवसका रूपमा मनाएकाे छ भने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले कालो झण्डा प्रदर्शनदेखि संविधान जलाउनेसम्म कार्यक्रम गरी कालो दिवस भन्दै मनाएकाे छ ।
तमलोपाले आज बिहान भानु चोकमा कालो झण्डा प्रदर्शन गरी विरोध प्रदर्शनको सुरुवात गरेकाे थियाे । दिउँसो विरोध जुलुस प्रदर्शन गर्दै उसले जनक चोकमा संविधानको प्रति जलाएर संविधान दिवसलाई कालो दिवसका रूपमा मनाएकाे छ । संविधान जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गर्दागर्दै आन्दोलनकारीहरूले संविधान जलाउन सफल भएका थिए । सरकारसँगै प्रहरीविरुद्ध समेत तमलोपाका नेता कार्यकर्ताहरूले चर्को नाराबाजी गरेका थिए ।
संविधान दिवस किन मनाइएको बारे तमलोपाका नेता उमेश मण्डलले भने, 'यो संविधान सबैको अधिकार नसमेटेर जनताको लाशमाथि जारी भएकाले कालो दिवसका रूपमा मनाएको हौं । यो संविधानमा यति धेरै त्रुटी र कमी छ संशोधन गर्दा पुग्ने नभएकाले पुनर्लेखनको आवश्यकता छ ।'
यस्तै तमलोपाकी नेतृ विन्दु ठाकुरले यो संविधान मधेशी, थारु, मुस्लिम लगायतका पिछडिएको वर्ग समुदायको अधिकार नसमेटेर ल्याइएकाले संशोधनसहित नयाँ संविधान नआउञ्जेलसम्म विरोध गरिरहने बताइन् ।
यसअघि एमालेले पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अगुवाइमा जानकी मन्दिरमा वृक्षरोपण, सरसफाइ र झन्डोत्तोलन गरेकाे थियो । सरसफाइ तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानलाई नयाँ ढंगले कार्यान्वयन गर्ने र कतिपय कुरामा संशोधनको आवश्यकता रहेकाले त्यसतर्फ लाग्नुपर्ने बताए ।
यता प्रदेश तथा संघमा सहभागी जसपा र जनमत पार्टीले संविधान दिवसको अवसरमा न उत्साह र न विरोध प्रदर्शन गरी तटस्थ बसेका छन् । गत वर्षसम्म जनमतले पनि विरोध प्रदर्शन गर्दै आएकाे थियाे । २०७५ सालमा केपी ओली नेतृत्वको सरकारमा हुँदा जसपाले विरोध प्रदर्शन नगर्ने निर्णय गरे बमोजिम हालसम्म तटस्थ नै बस्दै आएकाे छ ।
यस्तै अन्य वर्ष जस्तै यस वर्ष पनि प्रदेश सरकारले संविधान दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गरेन । कर्मचारीहरूले सरसफाइ तथा दीप प्रज्वलन गरी संविधान दिवस मनाए पनि सरकारमा आबद्ध मन्त्री सो कार्यक्रममा सहभागी भएनन् । सत्तारूढ दल कांग्रेस, माओवादी र नेकपा एसले दीप प्रज्वलन बाहेक खासै कार्यक्रम आयोजना गरेनन् ।

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

प्रतिक्रिया