जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त
खलंगा : कोभिड १९ को दोेस्रो लहर सङ्क्रमण रोकथामका लागि एक महिनादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि यस याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँको चटारोमा व्यस्त छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् ।
जुम्लामा मात्र उत्पादन हुने मार्सीको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेतीमा यहाँका किसानको सङ्ख्या पनि बढेको स्थानीय किसान सुनिता पाण्डेले बताइन् । जेठ पहिलो सातादेखि नै मार्सी धान रोपाइँको चटारो शुरु भएको हो ।
कृषि क्यालेन्डरअनुसार किसानले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहिआएको स्थानीय जानकार रमानन्द आचार्यले बताए ।
स्थानीय कृषि क्यालेन्डरअनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ शुरु हुन्छ । कोरोना स¬ङ्क्रमणको जोखिम भए पनि किसानलाई रोपाइँ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठ वटै स्थानीय तहमा धानखेती हुन्छ ।
जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ ।
मार्सी चामलको बजारभाउ प्रतिकिलो रु १२० छ । व्यापारी सो चामल खरिद गर्न घरघरमा आउँछन् । मार्सी चामलको जति चर्चा छ । उत्पादनमा त्यति नै मेहनत खर्चनुपर्छ । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिक महिनाको पहिलो सातादेखि घरमा भित्र्याउने गर्छन् । रासस

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया