शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रमको आयोजना

काठमाडौँ- बागमती प्रदेश क्रिकेट संघ तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गरेपनि ग्रासरुट क्रिकेट स्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्यून रहेको भन्दै प्रशिक्षक विकास कार्यक्रम आयोजना गरिएको बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले जनाएका छन् ।

यस कार्यक्रमले काठमाडौँ जिल्लाका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका खड्काले दावी गरेका छन् ।

यस कार्यक्रम पश्चात् ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीहरुको संख्या बढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि तल्लो स्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास समेत लिइएको छ ।

यसका लागि काठमाडौँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समेत गरिने उनले जनाए ।